माधव नेपालले जबज स्वीकारेमा वामदेव–प्रदीपले हरियो झण्डा देखाउने

माधव नेपालले जबज स्वीकारेमा वामदेव–प्रदीपले हरियो झण्डा देखाउने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीले सिद्धान्तमा जबज माने एमाले उपाध्यक्ष वामदेव गौतम र नेकपा एसबाट विदा लिएका पूर्व एमाले केन्द्रीय कमिटी सदस्य प्रदीप नेपाल नेकपा एकीकृत समाजवादी पार्टीमा आउने भएका छन्।

नेकपा एसका केही नेताहरूले मंगलबार नेता प्रदिप नेपालसँग भेट गरेका थिए। भेटमा नेता नेपालले पार्टीले जबजलाई नै मार्गदर्शक सिद्धान्त मान्ने हो भने भने आफू पार्टीमा फर्किने प्रतिक्रिया दिएको नेता प्रदीप नेपालको भनाई उदृत गर्दै एक नेताले केन्द्रबिन्दुलाई जनाए।

नेता प्रदीप नेपालले गत सोमबारमात्र समाजवादी पार्टीबाट विदा लिएको घोषणा गरेका थिए।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘केपी ओलीमा जस्तो अहँकार र छलछाम देखियो, माधव नेपाल पनि उस्तै झेली देखिए, त्यही भएर मैले माधव जीबाट विदा लिएँ र ओलीसँग पनि नलागी तटस्थ बस्ने निर्णय गरेको’ अभिब्यक्ति दिएका थिए।

केन्द्रबिन्दुसँग कुरा गर्दा पनि नेता नेपालले ओलीको नेतृत्व रहुन्जेल एमालेमा नजाने र माधव नेपाललाई छोडेर तटस्थ बसेको जनाएका थिए।

नेता प्रदीप नेपालसँगको भेटमा गएका नेताका अनुसार सामाजिक सञ्जालको सोमबारको पोष्ट पनि नेता नेपाल स्वयंले नगरेको जानकारी दिए।

त्यस्तै एमाले उपाध्यक्ष वामदेव गौतमको सवालमा पनि जबजकै कुराले अड्किएको र अर्को चाहिँ पदको कुराले पनि उहाँ समाजवादीमा आई नसक्नु भएको जानकारी ती नेताले गराए।

‘यस्तो बेलामा पद र अवसरलाई लिएर बार्गेनिङ गर्नु स्वभाविक हो । तर, मलाई लाग्छ उहाँहरू समाजवादीमै फर्किनुहुन्छ’, ती नेताले भने।

त्यसो त प्रदीप नेपाल भदौ ९ गते माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा सनाखत गर्न पुगेका थिए। त्यसलगत्तै माधव नेपालले एकीकृत समाजवादीको निर्देशक सिद्धान्त ‘जनता बहुदलीय समाजवाद’ अंगीकार गरेपछि प्रदीप रुष्ट बनेका थिए। 

पार्टीको निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने प्रदीपको अडान रहेको छ।

यता श्रीमती तुलसा थापालाई समाजवादीमा पठाईसकेका वामदेव भने अझै बार्गेनिङ गरिरहेका छन्।

उनले समाजवादीमा एक अध्यक्ष र एक सह–अध्यक्ष राख्नुपर्ने र त्यो सह–अध्यक्ष आफूलाई दिनुपर्ने भन्दै माधव नेपाललाई पत्रमार्फत् जानकारी दिएका थिए।

पार्टीका अन्य सदस्यहरूले नमानेपछि वामदेवको प्रस्ताव समाजवादी पार्टीमा विचाराधीन रहेको छ।

 

Skip This
Skip This
Logo