एमाले र एकीकृत समाजवादीको जोड घटाउः प्रदेश दुई बाहेक सबैमा एमाले बलियो (सूचीसहित)

एमाले र एकीकृत समाजवादीको जोड घटाउः प्रदेश दुई बाहेक सबैमा एमाले बलियो (सूचीसहित)


एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) तिर सांसदहरु खुल्ने क्रम जारी छ। सँगै एमालेले आफ्नो प्रभाव पर्ने क्षेत्रमा सांसदहरूलाई नयाँ पार्टीमा सनाखत गर्नबाट रोक्न नेताहरूलाई खटाएको छ। केन्द्रमा २२ जना प्रतिनिधिसभाका र राष्ट्रिय सभाका सात गरि २९ जनाले सनाखत गरेका छन्। 

जसमा प्रतिनिधिसभा तर्फबाट माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, विना बुढाथोकी र झलनाथ खनाल (भारतबाट सनाखत) गरेका थिए। त्यस्तै राष्ट्रिय सभाका सांसद मध्ये बेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी रहेका छन्।

बाँकी रहेका मध्ये अब एमालेमा प्रतिनिधिसभामा ९९ र राष्ट्रिय सभामा २६ सांसद छन्।

यता प्रदेश र स्थानीय तहमा भने निर्वाचन आयोगले भदौ २२ सम्म एमाले छाड्ने समय दिएपछि प्रदेश सांसदहरुले नवगठित नेकपा एस रोज्ने क्रम मंगलबारदेखि सुरु भएको छ। शुक्रबारसम्म ७ प्रदेश मध्ये ५ प्रदेशका सांसदहरू प्रदेश निर्वाचन आयोगमा गएर आफू कुन पार्टीमा खुल्ने भन्ने निर्णय गरिसकेका छन्। प्रदेश १ र २ का सांसदहरू भने बिहीबार नभए शुक्रबार मात्र नयाँ पार्टीमा खुल्ने भएका छन्। त्यसो त दल छान्ने अधिकार आयोगले २२ गतेसम्मका लागि दिएको छ। हालसम्म खुलेका सांसदको आधार हेर्ने हो भने प्रदेश २ बाहेक सबै प्रदेशमा एमाले बलियो छ भने गण्डकीमा भने शतप्रतिशत एमाले रहेका छन्।

७ वटै प्रदेशका सांसदको सूची, को कता खुले, कता कसको पल्ला भारी?

प्रदेश १ मा एकीकृत समाजवादीमा १० सांसद  
प्रदेश एक एमालेका १० सांसदहरू माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सामेल हुने भएका छन्। सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बु, गणेश काङ्माङ, कृष्णकुमारी राई, पद्मकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका छन्। 

९३ सदस्यीय प्रदेश १ सभामा सभामुखसहित एमालेका ५१ सांसद थिए। तीमध्ये १० जना एकीकृत समाजवादीमा रहँदा ४१ जना एमालेमा छन्। प्रदेशमा एमालेका सभामुखसहित ५१ जना सांसद छन्। बाँकी ४१ सांसद एमालेमा रहँदा एमाले प्रदेश एकमा बलियो छ।

प्रदेश २ मा एकीकृत समाजवादीमा १३ सांसद 
प्रदेश २ मा हाल एमालेका २१ सांसद छन्। उनीहरुमध्ये १३ जना आफ्नो पक्षमा आउने एकीकृत समाजवादीका नेता वेली लुंगेलीको दाबी छ। उनीहरू बिहीबार प्रदेश निर्वाचन आयोग पुगेर सनाखत गर्ने तयारी रहेको छ। जसमध्ये गोविन्द न्यौपाने, अशोककुमार यादव, शत्रुधन महतो, मन्जुकुमारी यादव, रवीन्द्र बैठा धोवी, वेची लुंगेली, नगेन्द्र राय यादव, हसिमा खातुन, सुन्दर विश्वकर्मा, सीता गुरुङ, प्रमोदकुमार यादव, मदनसेनप्रसाद श्रीवास्तव र डिल्लीप्रसाद उप्रेती रहेका छन्। जसमध्ये डिल्लीप्रसाद उप्रेती भारतमा उपचारार्थ रहेका र उनले २० गतेभित्र सनाखत गर्ने पनि लुंगेलीले केन्द्रबिन्दुलाई जानकारी दिइन्। 

सांसद लुंगेलीले दाबी गरे जस्तो १३ जना सांसद नेकपा एसमा प्रदेश २ बाट गए भने एमालेमा बाँकी ८ सांसद रहन्छन्। जसका कारण प्रदेश सभामा एमालेभन्दा नेकपा एस बलियो बन्ने देखिएको छ। त्यस्तै एमालेकी सांसद अनिताकुमारी यादवलेले पनि एमालेबाट बढीमा १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा जाने जानकारी दिइन् तर, त्यो रोक्न आफूहरू प्रयत्नशील रहेको पनि उनले बताइन्।

वाग्मती प्रदेशमा एकीकृत समाजवादीमा १२ सांसद 
वाग्मती प्रदेशमा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेका छन्। १०९ सदस्यीय प्रदेशसभामा ५६ एमाले सांसदको संख्याबाट घटेर एमाले ४४ मा झरेको छ। एमाले सांसदहरु राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमाआले मगर, वसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र कृष्ण खनालले एकीकृत समाजवादी रोजेका हुन्। 

अब वाग्मतीमा एमाले बाहेकको सरकार बन्ने अवस्था छ । वाग्मतीमा प्रदेश सरकार बनाउन ५५ सांसद चाहिन्छ, जुन सत्तारुढ गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग छ। नयाँ मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले दाबी गरेका छन्। प्रदेश सरकारबाट हटे पनि वाग्मती प्रदेशमा नेकपा एमाले ठूलो दलमा भने कायमै रहनेछ।

गण्डकी प्रदेशमा एकीकृत समाजवादीमा शून्य सांसद 
गण्डकी प्रदेशमा एकीकृत समाजवादी शून्य हुने देखिएको छ। ५९ सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन्। उनीहरुमध्ये माधवकुमार नेपाल पक्षका इन्द्रलाल सापकोटा मात्र थिए। उनी नेपाल समूहले बाग्लुङमा बनाएको समानान्तर कमिटीको अध्यक्ष थिए। तर एमालेमै बस्ने निर्णय लिएका छन् । यद्यपि दल रोज्न निर्वाचन आयोगले भदौ २२ गतेसम्मको समय दिएको छ। गण्डकीमा एमालेले सरकार गुमाइसकेको छ । एमाले बाहेकका दलहरुले गठबन्धन सरकार बनाएका छन्। 

लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीमा १ सांसद 
एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले एकीकृत समाजवादी रोजेकी छन्। दल रोज्ने समय अझै रहेकाले अरु पनि आउने उनको दाबी छ । ८० सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद थिए, शंकर पोखरेलको नेतृत्वमा सरकार थियो तर दृगनारायण पाण्डेय र अमर डाँगीले राजीनामा दिए भने नेकपाबाट निर्वाचन जितेकी विमला वलीले माओवादी केन्द्र रोजिन्। त्यस्तै सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका स्वतन्त्र राजनीतिक समूहका दुई मध्ये एक अजय शाहीले माओवादी केन्द्र, नेपाली कांग्रेससहितका दलको गठबन्धन रोजेका छन्। घर्तीले एकीकृत समाजवादी रोजेपछि एमालेमा ३६ सांसद कायम भएका छन्। घर्तीले समाजवादी रोजे पनि लुम्बिनीमा एमाले बलियो रहेको छ।

कर्णाली प्रदेशमा एकीकृत समाजवादीमा ३ सांसद 
कर्णाली प्रदेशसभाका ३ जना सांसदले नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी रोजेका छन्। मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गराएका छन्। कर्णाली प्रदेशसभामा एमालेका २० सांसद थिए। तर, एमालेले फ्लोर क्रस गरेको भन्दै प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई यसअघि कारवाही गरि पदमुक्त गरिदिएको छ। सभामुखसहित १६ सांसदमध्ये ३ जनाले नेकपा एस रोजेपछि अब एमालेका सभामुखसहित १३ सांसद भएका छन् । ४० सांसद रहेको कर्णाली प्रदेशसभामा अब एमालेका १३ सांसद छन्। कर्णाली प्रदेशमा पनि एमाले बलियो छ। 

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीमा १० जना
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्नेमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी,  मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन्।  सांसद दीर्घ सोडारी, अर्चना गहतराज र तारा लामा तामाङ पनि माधव पक्षका नेता भए पनि हालसम्म सनाखत भने गरेका छैनन्। ५२ सदस्यीय सुदूरपश्चिमको प्रदेश सभा एमालेका २५ सांसद थिए। तीमध्ये यसअघि १० जना एकीकृत समाजवादीमा रहँदा १५ जना एमालेमा रहन्छन् जसले एमाले विभाजन हुँदा पनि सुदुरपश्चिम प्रदेशमा एमाले बलियो छ।

Logo