नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षबाट पार्टीको १४ औं महाधिवेशनमा सभापति पदको एकजना मात्र उम्मेदवार हुने बताएका छन्।
छिट्टै उम्मेदवार सार्वजनिक गरिने उनले बताए। ‘को हुने हो त उम्मेदवार?’ भन्ने प्रश्नमा उनले सल्लाहमा उम्मेदवारी हुने दाबी गरे।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा उनले उपयुक्त नेतालाई सभापति पदमा अघि बढाउने बताए।
‘कि तपाईंहरूलाई यति मात्रै भन्छु, कि हामी एउटा मात्रको सभापति पदको उम्मेदवारी सल्लाह गरेर दिन्छौं, सबै साथीहरू ढुक्क रहनुहोस्, म हार्दिक अनुरोध गर्दछु।’
पार्टीलाई व्यक्तिवादीभन्दा पनि विधानअनुसार सामूहिक नेतृत्व प्रणालीबाट अघि बढाउन चाहेको पनि उनको भनाइ छ।
कुन पदमा कसले उम्मेदवारी दिँदा उपयुक्त हुन्छ ? त्यसको आधारमा आपसी सल्लाहमा उम्मेदवारी तय हुने उनले बताए।
पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, नेताहरू डा. शेखर कोइराला, सुजाता कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, गगन थापालगायत सहभागी थिए।





























प्रतिक्रिया