गोकुल बाँस्कोटा भन्छन्ः कुचो लगाउनुपर्ने कसिंगर हुरीले उडायो

गोकुल बाँस्कोटा भन्छन्ः कुचो लगाउनुपर्ने कसिंगर हुरीले उडायो


काभ्रेका प्रदेश सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईंले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।

सो क्षेत्र पूर्वमन्त्री एमाले नेता गोकुल बाँस्कोटाको क्षेत्र हो। राष्ट्रिय राजनीतिमा एमालेका प्रभावशाली बाँस्कोटा स्वयंले उनीहरूलाई रोक्न नसकेको भन्दै उनको क्षमतामाथि प्रश्न उठिरहेको छ।

दुवै सांसदहरू काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र–२ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र–१ का बसुन्धरा हुमागाईं एकीकृत समाजवादी रोजेपछि त्यो प्रश्न उब्जिएको हो।

तर, नेता बाँस्कोटाले भने उनीहरू गएर काभ्रेमा एमालेलाई केही असर नगर्ने प्रतिकृया दिएका छन्।

‘यसमा मेरा कुनै प्रतिकृया छैन, जानैपर्ने मान्छे गएका हुन्, एमालेलाई त्यसले केही फरक पार्दैन। हिजो एमालेबाट लड्दा २७,२८ हजार मत ल्याएर जितेका हुन् उनीहरूले । अहिले एमाले छोड्दा उनीहरूलाई मत हाल्ने, विचार राख्नेहरू उनीहरूकै पछि लाग्छन् त ? लाग्दैनन् नि, एमालेका त एमालेमै रहन्छन्, ती दुई जाँदा त्यस्तो तात्विक असर पार्टीमा पर्दैन,’बाँस्कोटाले भने।

बाँस्कोटाले दुई सांसदले एमाले छोड्दैमा कोकोहोलो गर्नुपर्ने अवस्था नरहेको प्रतिकृया दिए।

‘केन्द्रकी सांसद नविना लामा एमालेमै छिन् त, प्रदेश सांसद गोमा भुर्तेल पनि एमालेमै छिन्, चन्द्र लामा, म सहित हामी छ जनामध्ये चार त एमालेमै छौं त। अनि दुई जना जाँदैमा के को कोकोहोलो नि ?’, बाँस्कोटाले भने।

काभ्रेका दुई प्रदेश क्षेत्रका चार सांसदमध्ये दुई प्रदेश सांसदले नेकपा एस रोजे पनि समग्र जिल्लामा हेर्ने हो भने नेकपा एस कमजोर देखिएको छ।

स्थानीय तहमा भने नेकपा एसलाई ठूलो धक्का लाग्ने देखिएको छ। काभ्रे जिल्ला कमिटी, नगरकमिटी, वडा कमिटी र टोल विकास क्षेत्रमा नेकपा एमाले बलियो देखिएको छ।

स्रोतकाअनुसार काभ्रेका १३ स्थानीय तहमध्ये सात प्रमुख र सात उपप्रमुख गरी एमालेले १४ जनप्रतिनिधिले जीत हासिल गरेका थिए, जसमध्ये तीन जना प्रमुख–उपप्रमुख जस्तै मण्डन देउपुरका पालिका प्रमुख, भूम्लुकी उपप्रमुख र नमाेवुद्धका उपप्रमुखबाहेक अन्य सबै  एमालेमै रहेका छन्।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख पनि एमालेमै रहेका छन्।

यता वडा अध्यक्षको हकमा भने काभ्रेमा जम्म ५७ वटा वडा अध्यक्षहरूको जीत भएकोमा चारजना र मझधारमा रहेका पाँचबाहेक ४७ जना अध्यक्ष रहेका छन्।

बाँकी मझधारमा रहेका पाँच अध्यक्षहरू एमालेमा फर्किने वा नेकपा एसमा जाने टुंगो लगाएका छैनन्, उनीहरूले २२ गतेभित्र टुंगो लगाउनुपर्नेछ, स्रोतले भन्यो।

काभ्रेमा एमाले जिल्ला कमिटीका ६३ मध्ये अध्यक्ष टोकबहादुर वाईवा र अन्य २ जना सदस्यबाहेक बाँकी ६१ जना पदाधिकारी र सदस्य एमालेमै रहेको र सदस्य दुईमध्ये पनि एक सांसद बसुन्धरा हुमागाईं रहेको स्रोतको दाबी छ। 

त्यस्तै स्रोतका अनुसार नेकपा अलग भएपछि माओवादी केन्द्र र एमाले रोज्दा माओवादी छोड्ने जिल्ला कमिटीका प्रभावशाली २० जना नेताहरू एमालेमै रहेको दाबी छ। जसमा २०७० सालमा माओवादी केन्द्रबाट उमेद्वार बनेर एमालेसँग झिनो मतले हारेका नारायण बानियाँ, नोर्वु लामा, रुपै योञ्जन माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य, बटालियन कमाण्डर विनोद गौतम, अरुण गौतमलगायत छन्।

माओवादी केन्द्रका वाईसिएल प्रमुख, उपप्रमुख नै एमालेमा रहेको, त्यसैगरी चुडामणि गौतम विप्लप समूहका केन्द्रीय सदस्यले पनि एमाले रोजेको स्रोतको दाबी छ।

स्रोतले काभ्रेमा एमालेका केही नेकपा एसमा गएपनि त्यसको पूर्ति माओवादी केन्द्र र विप्लव समूहबाट गरिसकेको बताएको छ।

Logo