गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी छः प्रधानमन्त्री देउवा (भिडियाे)

गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी छः प्रधानमन्त्री देउवा (भिडियाे)


नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई  बलियो बनाउन जरुरी भएको बताएका छन्। पार्टीको वडा अधिवेशनको अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न आग्रह गरेका हुन्।

उनले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच महाधिवेशन सुरु गर्नु परेको भन्दै सामाजिक दूरी कायम गरी सहभागी हुन पनि नेता कार्यकर्तामा अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘आज म निकै खुशी छु। ८ लाखभन्दा बढी नेपाली कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुनु भएको छ र मैले ती सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु।’

नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैं अघि रहेको उनले बताए। ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो। स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउँदै जन–जनमा लोकतन्त्रको रक्तसंचार गर्छ।’ देउवाले भनेका छन्, ‘देशभरका साथीहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु।’

देउवाले १४ औं महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिएको पनि बताएका छन्। उनले शुक्रबारदेखि सुरु हुने वडा अधिवेशनमा सहभागीलाई स्वागत तथा बधाई ज्ञापनसमेत गरेका छन्। 

उनले जारी गरेकाे भिडियाे सन्देश हेर्न यहाँ क्लिक गर्नुहाेला। 

Logo