प्रदेश र स्थानिय तहका जनप्रतिनिधिलाई दल रोज्ने आज अन्तिम दिन

प्रदेश र स्थानिय तहका जनप्रतिनिधिलाई दल रोज्ने आज अन्तिम दिन


निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीबाट अलग हुन चाहना गर्ने जनप्रतिनिधिहरूलाई सनाखत गर्न दिएको समयसीमा आज सकिँदैछ।

आज ५ बजेभित्र दुई दल नेकपा एमाले र जसपाबाट अलग हुन चाहने जनप्रतिनिधिले दल रोज्नु पर्नेछ। अन्यथा, आजपछि कोही प्रतिनिधिले दल परित्याग गरे भने कारवाही हुने र पद गुम्न सक्नेछ।

एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन भएपछि आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न ११ दिनको समय दिएको थियो। 

आयोगले गएको भदौं ९ गते दुबै पार्टी नेकपा ‘एस’ र लोसपालाई आधिकारिकता प्रदान गरिदिएको थियो । त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो ।

सातवटै प्रदेशका प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिले मंगलबारसम्म पनि नयाँ दल रोज्ने क्रम जारी छ । 

दुबै नव गठित पार्टी नेकपा (एस) र (लोसपा)मा पुरानो दल नेकपा (एमाले) र (जसपा) छोडेर नयाँ दल रोज्ने जनप्रतिनिधिको संख्या अन्तिम दिनसम्म आउँदा उल्लेखनीय पाइएको छ।

आधिकारिक नतिजा आजै पाँच बजे आउने भएपनि अहिलेसम्मको तथ्यांक हेर्दा संघमा बाहेक प्रदेश र स्थानिय तहमा दुबै पार्टीको पुरानो पार्टीसँग टक्करको स्थिति छ।

उदाहरणका लागि प्रदेश २ र सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ । 

सुदूरपश्चिम प्रदेशमा अन्य दलभन्दा १४ सांसदसहित एकीकृत समाजवादी संसद्कै सबैभन्दा ठूलो दल बनेको छ ।

Logo