कांग्रेसमा क्रियाशीलको किचलो बाँकी नै, २७ गते पालिका अधिवेशन असम्भव

कांग्रेसमा क्रियाशीलको किचलो बाँकी नै, २७ गते पालिका अधिवेशन असम्भव


पालिका अधिवेशनको मिति आउन तीन दिन बाँकी रहँदासम्म २१ वटा जिल्लाको वडा अधिवेशन सुरु नै नभएको नेपाली कांग्रेसको निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ।

राजधानी काठमाडौंलगायत २० जिल्लाको कियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो। पार्टी सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरासहित २१ जिल्लामा आजसम्म वडा अधिवेशन नै सुरु हुन सकेको छैन।

डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिले भोलि (शुक्रबार) वडा अधिवेशनको मिति तोके पनि जिल्ला कार्यसमितिले भने सदस्यतामा असन्तुष्टि जनाउँदै अधिवेशन नगर्ने निर्णय गरेको छ।

२० जिल्लाको क्रियाशील सदस्यता विवाद आजसम्म नटुंगिएकाले २७ भदौमा तोकिएको पालिका अधिवेशनको तालिका प्रभावित हुने कांग्रेसले जनाएको छ। क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले २७ गतेको पालिका अधिवेशनको तालिका प्रभावित हुने बताए। ‘२१ जिल्लाको वडा अधिवेशन नै सुरु भएको छैन, त्यसैले पालिका अधिवेशन २७ गते सम्भव छैन,’ लेखकले भने, ‘सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिका अधिवेशन गर्नेकी भन्ने कुरा उठेको छ।’ त्यस विषयमा नेताहरूसँग आज छलफल भएर निर्णय हुने उनले बताए।

सबै जिल्लाको वडा अधिवेशन सकेपछि देशभर पालिकाको अधिवेशन एकै दिन गर्ने विषयमा पार्टीमा कुरा चलेको लेखकले सुनाए। पालिकाको अधिवेशनको मिति पर सारेर एकै मितिमा गर्ने निर्णय भएपछि वडा अधिवेशन सम्पन्न भएका ५६ जिल्लाको पालिका अधिवेशन पनि २७ गते नहुने देखिएको छ। निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २० जिल्लामा सदस्यता विवाद नटुंगिएकाले २७ गते नै सबै पालिका अधिवेशन गर्न असम्भव भएको बताए।

सदस्यता सार्वजनिक हुन बाँकी जिल्ला 

क्रियाशील विवाद टुंगिन बाँकी स्थानहरूमा प्रदेश नम्बर १ को मोरङ, प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी बाग्मती प्रदेशतर्फ काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र काठमाडौं, लुम्बिनी प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु कर्णाली प्रदेशको डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको बाजुरा र कैलाली जिल्ला रहेका छन्।

हालसम्म क्रियाशील सदस्यता विवाद नभएको प्रदेश गण्डकी रहेको छ। प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद टुंगिएको छैन। अधिवेशन सुरु हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।न्युज कारखाना

Logo