१४ माघ २०७८ शुक्रबार

असाेज १ देखि विद्यालय खोल्ने निर्णय पुनर्विचार गर्न काठमाडौंका सिडिओले बाेलाए बैठक

कोरोना महामारीका कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ। कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक आज बस्दैछ।

बैठकले यसअघि असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयमा पुनः छलफल गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए। ‘दिउँसो ३ बजे जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा असोज १ गतेदेखि विद्यालय खोल्ने की तत्काल नखोल्ने भन्ने विषयमा छलफल हुन्छ’, रिजालले भने, ‘सदस्यहरूले जे सल्लाह दिनुहुन्छ त्यही आधारमा निर्णय गर्छौँ।’

उनले सम्भवतः आजै ललितपुर र भक्तपुरमा पनि डिसिसिएमसीको बैठक बसेर विद्यालय खोल्ने विषयमा छलफल हुने खबर पाएको बताए। तीनवटै जिल्लाको डिसिसिएमसीको निर्णयपछि तीनै प्रमुख जिल्ला अधिकारीको बैठक बसेर यसबारेमा निर्णय गरिने पनि उनले जानकारी दिए।

गत सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको थियो।

बैठकले स्वास्थ्य अवस्थाको जोखिम हेरेर सम्बन्धित स्थानीय तहले विद्यालय खोल्ने निर्णय गर्न सक्ने निर्णय गरेको थियो। असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयले अभिभावक र विद्यार्थीलाई अन्योलमा पारेको छ। दसैंको मुखमा अधिकांश विद्यार्थी गृहजिल्लामा भएकाले विद्यालय खुल्दा अफ्ठेरो हुने अभिभावकले बताएका छन्। गृहजिल्ला गएका विद्यार्थीका अभिभावकले भने दसैंपछि मात्रै विद्यालय खोल्न माग गरिरहेका छन्। न्युज कारखाना

समाज

प्रकाशित: २७ भदौ २०७८ १०:२५ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी