प्रदेश १ मा सरकार गठनको कसरत स्वरूप त्यहाँस्थित विपक्षी गठबन्धनका नेताहरूले गठबन्धनका केन्द्रीय नेताहरूलाई प्रदेश प्रमुख र मुख्यमन्त्रीमा सहमति जुटाउन दबाब दिन थालेका छन्।
यी दुई पदमा सहमति गठबन्धनको केन्द्रीय नेताहरूले जुटाए प्रदेशमा सरकार गठनको प्रक्रिया थाल्न सहज हुने उनीहरूको ठम्याइ छ।
प्रदेश संसद्को तेस्रो दल माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो ‘मौसम’ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर गठबन्धनमा छलफल गरेर छिटो प्रदेश प्रमुख र मुख्यमन्त्री टुंग्याउन आग्रह गरिएको बताए।
प्रदेश प्रमुख टुंग्याएर छिट्टै नियुक्त गरेको अवस्थामा संसद्को विशेष अधिवेशन बोलाउन माग गर्न सहज हुने उनको भनाइ छ।
अधिवेशन आह्वान गर्दा अविश्वासको प्रस्ताव लाने प्रदेशस्थित विपक्षी गठबन्धनको सोच छ।
विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जसपालगायत दलले पनि आ–आफ्ना पार्टीका नेतृत्वहरूलाई प्रदेश प्रमुख र मुख्यमन्त्रीबारे टंग्याउन दबाब दिँदै आएका छन्।
यसअघि लुम्बिनी प्रदेशमा अमिक शेरचन प्रदेश प्रमुख भएर लगत्तै अधिवेशन बोलाएर अन्ततः शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न सहयोग गरेका थिए।
प्रदेश प्रमुखलाई अधिवेशन माग गरेको पत्र पुगेको अवस्थामा १५ दिनभित्रमा अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ।































प्रतिक्रिया