सुदूरपश्चिम । सुदूरपश्चिमका सबैजसो जिल्लामा आज बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले हाल प्रदेशका हिमाली, पहाड र तराईका सबैजसो स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको जनाएको हो ।
कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा भएको जानकारी दिए । हालसम्म सबैभन्दा बढी कञ्चनपुरको कान्तिपुर बेलौरीमा ७९ दशमलव छ मिलिमिटर पानी परेको छ भने अत्तरियामा १२ मिलिमिटर पानी परेको छ ।
यहाँका नदीमा पानीको बहाव सामान्यतया चेतावनी तह पुगेको जनाउँदै आजको तुलनामा सोमबार बढी पानी पर्ने सम्भावना रहेकाले नदीमा पानीको सतह बढ्न सक्ने साहले बताए । “आजको भन्दा भोलि बढी पानी पर्ने पूर्वानुमान छ । त्यसो हुँदा नदी तथा खोलामा पानीको तह बढ्न सक्छ । त्यसैले नदी तटीय क्षेत्रमा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक छ”, उनले भने ।
आज राति सुदूरपश्चिमका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ ।
तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि कार्यालय जानकारी दिएको छ ।































