संविधान दिवसः आम नागरिकहरूलाई छैन हर्ष

संविधान दिवसः आम नागरिकहरूलाई छैन हर्ष


आफ्ना जनप्रतिनिधिद्वारा संविधानसभामार्फत् निर्माण गरेको संविधानको स्मरण गर्दै प्रत्येक वर्ष असोज तीनमा संविधान दिवस मनाइन्छ। 

सातौ संविधान दिवसको अवसरमा आइतबार देशभर विभिन्न कार्यक्रम आयोजना पनि गरिए।

सत्तारुढ दलसहित विपक्षी दलले तमाझामका साथ दिवस मनाए भने केही दलले कालो दिन भन्दै दिवस नै बहिष्कार गरे । सोही संविधानको आडमा राज्यको उपल्लो तहमा पुगेका केही दल भने तटस्थ बसे। 

दल र दलका नेतृत्व आ–आफ्नो स्वार्थमा दिवस मनाउने र नमनाउने गरेतापनि ती सबै कार्यक्रम औपचारिकतामा सीमित हुने गरेका छन्। 

नागरिकले भने ७ बर्षसम्ममा पनि संविधानको सफल कार्यान्वयन नभएको र संविधानप्रदत्त हक नै नपाएको गुनासो गर्छन्। 

अरु त अरु महिलालाई छुट्इयाएको अधिकार पनि पुरुषहरूले नै खोसेको गुनासो महिलाहरूको छ।

समान ज्याला समान अधिकार नारामा मात्र सीमित रहेको भन्दै संविधानको सफल कार्यान्वयन गर्न प्रदान गरिएको अधिकार दलका नेतृत्व आफैवाट कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरूको जिकिर छ। 

काठमाडौं बनस्थली बस्ने अमृता लोहनी संविधानको सफल कार्यान्वयन नभएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउँछिन्।

‘समान ज्याला समान काम समान अधिकार संविधानमा भनिएको छ । तर, हामीले त्यो पाईरहेका छैनौं। त्यही काम पुरुषले गर्दा एक हजार ज्याला लिन्छन्, हामीलाई पाँच सयमा पनि पत्याउदैनन् । महिला अधिकारको कुरा गरिएको छ । तर, दिनहुँ नारी बलात्कृत हुनुपरेको छ, जुन संविधानको सफल कार्यान्वयनको अभावका कारण देख्छु,’ उनी भन्छिन्।

लोहनीमात्र होइन, अधिकांश नागरिकले संविधानको सफल कार्यान्वयन नभएको गुनासो गर्ने गरेका छन्।

नेतृत्व गैरजिम्मेवार भएका कारण संविधानकै अस्तित्व सकिन लागेको कलंकीका भोजराज थापाको जिकिर छ।

उनी भन्छन्, ‘दलका नेताले जनतालाई कार्यकर्ता मात्र देखेको र जनताले पनि नेताको पुच्छर नसमाती कहिँ पुगिदैन भन्ने सोंचले नागरिकप्रति राजनीतिक दल र नेतृत्वले दमन गरेको र नागरिकहरू आफूले पाउने अधिकारबाट बन्चित भएको जसको कारण संविधानकै अस्तित्व सकिन लागेको देख्छु।’

तथापि केही नागरिकहरू संविधानको कार्यान्वयन हुँदै नभएको भन्नु चाहिँ गलत रहेको तर्क गर्छन्। 

संविधानले दिएको अधिकार एकै दिनमा एकै छिनमा पाउने नभएर समय लाग्ने, नेपालको संविधानको हकमा भने संविधान पूर्ण रुपमा सफल कार्यान्वयनमा रहेको कहीँ त्रुटि भए त्यसलाई पनि संविधानको परिधिभित्र बाध्नुपर्ने, त्यसका लागि राजनीतिक नेतृत्व लाग्नुपर्ने भनाई सिनामंगल निवासी धु्रव बस्नेतको छ।

संविधानको सफल कार्यान्वयन हुँदा मुलुक सही लिकमा हिँड्ने हो । तथापि यही संविधानलाई राजनीतिक नेतृत्वले पटक पटक निशाना बनाउँदै आएका छन्। 

आफ्नो स्वार्थपूर्ति गर्न अन्ततोगोत्व संविधानलाई निशाना बनाउने परिपाटी पछिल्लो समय हाबी भएको छ। यसले नागरिकको बितृष्णा पैदा हुने गरेको छ। 

त्रिभुवन अन्तरराष्टिय विमानस्थल अघि भेटिएका युवाहरू मुलुकमा रोजगारी नपाएर विदेश हिँड्न बाध्य भएको बताउँछन्। जबकि नेपालको संविधानमा बास, गाँस, कपास र रोजगारीलाई मौलिक हकमा समावेश गरिएको छ।

Logo