१५ मिनेटमै कोरोना पत्ता लगाउने प्रविधि आउँदैदेखि यस वर्षको इपीएस परीक्षा नहुनेसम्म (भिडियोसहित)

१५ मिनेटमै कोरोना पत्ता लगाउने प्रविधि आउँदैदेखि यस वर्षको इपीएस परीक्षा नहुनेसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड–१९ पत्ता लगाउने प्रक्रियामा ढिला सुस्ती देखिएकाले त्यसको सहजताका लागि डब्लुएचओले नयाँ परीक्षण प्रविधि ल्याउने भएको छ । जसले १५ देखि ३० मिनेटमा नतिजा देखाउने छ भने उक्त प्रविधिलाई १ सय ३३ देशमा उपलब्ध गराइने छ ।

त्यस्तै दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने सांसदहरुले बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मूल्यवृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् ।

काठमाडौं उपत्यकामा सवारी तथा मानवीय चाँप बढ्न थालेपछि ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका आउने सवारी साधनको आवतजावत बढेको तथा मानिसहरूको भीडभाड बढेकाले प्रहरीले जोर बिजोर प्रणालीमा कडाई गरेको जानकारी गराएको हो ।

त्यस्तैगरी संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक जुनसुकै कारण अलपत्र परेमा पनि कोषको रकमबाट उद्धार गर्न निर्देशन दिएको हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वर्षेनी हुँदै आएको कोरियाली भाषा परीक्षा यो वर्ष नहुने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण यो वर्षको कोरियाली भाषा परीक्षा नहुने भएको हो । रोजगार गन्तव्य कोरियामा कोरोना संक्रमण घट्दो दरमा रहे पनि स्रोत मुलुक नेपालमा भने संक्रमण बढ्दै गएको कारण देखाउदै भाषा परीक्षा नहुने निर्णय भएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo