कांग्रेस अधिवेशनः ओखलढुङ्गाको लिखुमा सुवेदी सर्वसम्मत, तीनजनालाई कारबाही

कांग्रेस अधिवेशनः ओखलढुङ्गाको लिखुमा सुवेदी सर्वसम्मत, तीनजनालाई कारबाही


नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ नगर अधिवेशन प्रारम्भ भएको छ ।

जसअन्तर्गत ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकामा कुमारराज सुवेदी सर्वसम्मत निर्वाचित भएको नेपाली कांग्रेसका ओखलढुङ्गा प्रमुख निर्वाचन आयुक्त कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।

९ वटा वडा र १५३ मतदाता रहेको लिखु गाउँपालिकामा सुवेदी सर्वसम्मत चयन भएका हुन् । जिल्लाका अन्य ७ पालिका मध्य केहीमा सर्वसम्मत प्रतिनिधि चयन गर्ने तयारी रहेको छ भने सिद्धिचरण नगरपालिकामा भने चुनावको तयारी सुरु गरिएको छ । 

१२ वडा रहेको उक्त नगरपालिकामा २२३ मतदाता रहेका छन् । त्यस्तै चिशंखुगढी गाउँपालिकामा १३६, सुनकोशी गाउँपालिकामा १८८, चम्पादेवी गाउँपालिकामा १८०, मोलुङ गाउँपालिका १७८, खिजिदेम्वा गाउँपालिकामा १३८ र मानेभन्ञ्याङमा १५० मतदाता रहेका छन् ।

यसअघि भाद्र १८ गते भएको वडा अधिवेशनमा सिद्धिचरण नगरपालिका १२ र चिसंखुगढी गाउँपालिका ५ बाहेकका सबै वडामा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएको प्रमुख निर्वचन आयुक्त पौडेलले जानकारी दिए । 

तीन जनालाई कारबाही, सुरक्षा सतर्कता बढाइयो 

पार्टीको विधानविपरित काम गरेको आरोपमा ज्ञानेन्द्र रुम्जाली, चक्रबहादुर राई र रामजी बास्तोलालाई प्रमुख निर्वाचन आयुक्त पौडेलले कारबाही गरेका छन् । उनीहरूलाई कारबाही गरी क्षेत्रीय प्रतिनिधि बन्नबाट वञ्चित गरिएको हो ।

उक्त कारबाहीसँगै आयुक्त पौडेलको सुरक्षा लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोली खटाइएको छ ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको  छ ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ नगर अधिवेशन सुरु भएको छ ।

Logo