‘भष्ट्राचार र कमिसनतन्त्रको अन्त्य हुनुपर्छ’-प्रदेश प्रमुख शेरचन

‘भष्ट्राचार र कमिसनतन्त्रको अन्त्य हुनुपर्छ’-प्रदेश प्रमुख शेरचन

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि भष्ट्राचार र कमिशन तन्त्रको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति कास्कीको चौथो जिल्ला सभाको सोमबार उद्घाटन गर्दै उनले जनताको बलबाट प्राप्त अधिकार र व्यवस्थाको रक्षाका लागि मुलुकमा सुशासन कायम हुनुको विकल्प नभएको बताए ।

स्थानीय सरकारले आम जनतालाई अभिभावकत्व प्रदान गर्न सफल भएको बताउँदै प्रदेश प्रमुख शेरचनले व्यक्तिले गरेको गल्तिलाई कुनै पनि संस्थासँग जोडन नहुने बताए । विकास निर्माण कार्यको अनुगमन गर्ने जिम्मा जिल्ला समन्वय समितिलाई भएको उल्लेख गर्दै प्रमुख शेरचनले अनुगमनका क्रममा देखिएका कमिकमजोरी औल्याउँदै त्यसको कार्वाहीको सिफारिस गर्ने निकाय स्पष्ट हुनु पर्ने बताए ।

सांसद विद्या भट्टराई अधिकारीले प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराको मौलिकतालाई बचाएर शहरीकरण गर्नुपर्ने आवश्यकता औंल्याए। प्रकृतिको संरक्षण गर्दै विकास निर्माणमा जुटनु सम्पूर्ण जनप्रतिनिधिहरुको दायित्व भएको उनको भनाइ थियो ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले वर्तमान विषम परिस्थितिमा पनि स्थानीय तहले दैनिक ज्यालादारी गरेर खाने वर्गलाई राहत वितरण गर्नुका साथै विकास निर्माणलाई समेत निरन्तरता दिएको बताइन् । जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले समितिलाई प्राप्त जिम्मेवारी अनुसारका काम कार्वाहीमा तदारुक्तता देखाइएको बताए । समितिका आगामी दिनका कार्ययोजना प्रस्तुत गर्दै अधिकारीले जनप्रतिनिधिहरु जनताका हरेक समस्यामा सहयोगी बन्दै आफ्नो जिम्मेवारी र दायित्व वहन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, जिससका उपप्रमुख सावित्री भण्डारी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्व जिविस उपसभापति श्रीनाथ बराल लगायतले जिससको भूमिका तथा दायित्व सम्वन्धमा आ-आफ्ना धारणा राखेका थिए ।रासस

Logo