१८ जना मन्त्री थपिँदै, यस्तो बन्दैछ देउवा सरकारको २५ सदस्यीय मन्त्रीमण्डल (भिडियाेसहित)

१८ जना मन्त्री थपिँदै, यस्तो बन्दैछ देउवा सरकारको २५ सदस्यीय मन्त्रीमण्डल (भिडियाेसहित)


शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको लगभव ३ महिना पुग्न लाग्दा बल्ल मन्त्रिपरिषद् विस्तार गर्न तातिएका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित आफ्नै पार्टी नेपाली कांग्रेसबाट पनि चर्को आलोचना र विरोध खेपेपछि बल्ल प्रधानमन्त्री देउवा यो साता सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने मुडमा देखिएका हुन्। 

सत्तारुढ दल कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मन्त्री बनाउने नेताहरूको नाम दिन ताकेता गरिरहेका छन्। 

यता सत्तासाझेदार दल राष्ट्रिय जनमोर्चा भने सरकारमा सामेल नहुने बताउदै आएको छ। जनमोर्चा सरकारामा नजाने भएपछि अब ४ दलको संयुक्त सरकार बन्ने छ। 

२९ असारमा देउवा मुलुकको पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए। यसअघिको कार्यकालहरूमा जम्वो मन्त्रिपरिषद् बनाएको भन्दै आलोचित भएका उनी यसपटक भने मन्त्री नै बनाउन नसकेर निकम्मा र निरिहजस्तै देखिएका छन्। 

तर, असोजको दोस्रो सातादेखि भने मन्त्रिपरिषद् विस्तारको तयारीमा उनको सक्रियता बढेको छ। देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग मन्त्री बन्ने नेताहरूको लिष्ट दिने ताकेता गरेका हुन्। 

आइतबारको सत्ता गठबन्धनको बैठकमै देउवाले शीर्ष नेताहरूलाई मन्त्रीको नाम दिन भनेका थिए ।

त्यसपछि सत्तासाझेदार शीर्ष नेताहरू आ–आफ्नो पार्टीबाट मन्त्रीको टुंगो लगाउन आन्तरिक तयारीमा जुटेका थिए। 

कांग्रेसभित्रै पनि गुट मिलाउनुपर्ने हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह पनि आफ्नो तर्फबाट मन्त्री बनाउने अनुहार छनोट गरिरहेका छन्। 

यसअघि देउवाले आफ्नो पक्षका नेताहरूलाई किस्तारमा एक एक गर्दै मन्त्री बनाएपछि रुष्ट बनेको पौडेल र सिटौला समूह बाँकी रहेको ३ मन्त्री छनोटमा लागेका हुन्। पौडेल र सिटौला समूहले मन्त्री बन्नेको सूची बुझाएपछि शनिवार सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको योजना रहेको बुझिएको छ।

मन्त्रिपरिषद् विस्तार गर्न किन ढिलाई ?

त्यसो त मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई हुनुको कारण गठबन्धनले अनेक दिएको छ। सुरुमा माधव नेपालले एमालेमा विद्रोह गर्न चाहेको र त्यसैको लागि पर्खिएको बताएको थियो। 

भदौ २ पछि भने माधव नेपालले नयाँ पार्टी गठन प्रकृया अघि सारेको हुँदा फेरि उनलाई नै पर्खिएको भन्दै गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा आलटाल गरियो। 

माधव नेपालले ९ भदौमा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी आधिकारिक रुपमा पाएपछि पनि गठबन्धनले २२ भदौसम्म प्रदेश र स्थानीय तहमा सनाखतको निहु पारेर मन्त्रिपरिषद् विस्तार गरेन। 

पछि नेकपा एमालेले नेकपा (एस) नै खारेजीसहित १४ सांसदमाथि कारवाही माग गर्दै सर्वोच्चमा हालेको रिट निवेदनको निहुँ पारेर गठबन्धनले पुनः मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गर्यो। 

तर, ५ असोजमा सर्वोच्चले १४ सांसदमाथि कारवाहीको रिटमाथि अन्तरिम आदेश नदिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बाटो खुलेको थियो। तर, एमाले फुटाउने प्रयोजनसहित १ असोजमा ल्याईएको दल विभाजन अध्यादेश निष्कृय नभएसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्ने सत्तारुढ दलकै केही घटकहरूले नै अड्डी कसेपछि भने पुनः ११ असोजसम्म मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनले सकेन। 

११ असोजमा अध्यादेश निष्कृय भएपछि भने गठबन्धन मन्त्रिपरिषद् विस्तार गर्न हतारिएको छ। 

कुन पार्टीबाट कति मन्त्री ?

करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ मन्त्रीको भारी आफैँले बोकेर हिँडिरहेका छन्। यस बीचमा भने गठबन्धनका कुन पार्टीले कति र कुन–कुन मन्त्रालय पाउने टुंगो लगाएको छ। जसमा संख्या गतलरुपमा कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक–एक राज्यमन्त्री पाउने सहमति भएको गठबन्धनले जनाएको छ।

माओवादी केन्द्रबाट को–को ?

यसअघि जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जामन्त्रीका रूपमा माओवादी केन्द्रले सरकारमा पठाएको थियो। 

अब भने माओवादीले चार मन्त्री पाउनेछ। माओवादी केन्द्रबाट हरिबोल गजुरेलको संयोजकत्वमा देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किरातीमध्ये दुईजना मन्त्री बन्ने बुझिएको छ। 

यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्ये एकजना मन्त्री बन्ने सम्भावना रहेको देखिएको छ। उता मधेसबाट भने यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलमध्ये एकजना मन्त्री बन्ने माओवादी स्रोतले जनाएको छ।

एकीकृत समाजवादीबाट को–को ?

एमालेमा विद्रोह गरेर देउवा सरकार गठनमा निर्णय भूमिका खेलेका माधव नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी पार्टीले ६ जना मन्त्री पाउने भएको छ। 

नेकपा एसबाट भने नेता विरोध खतिवडाको संयोजकत्वमा सांसद मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ मन्त्री बन्दैछन्। त्यस्तै भवानी खापुङ, किसान श्रेष्ठ मध्ये एक जना राज्यमन्त्री बन्ने स्रोतले बताएको छ।

जसपाबाट को–को ?

जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई दिएको थियो। जसपाबाट मन्त्री बन्नेहरूमा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादवको नाम चर्चामा छ।  

अध्यक्ष उपेन्द्र यादव सरकारमा नगएको अवस्थामा नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जाने स्रोतले बताएको छ।

कांग्रेसबाट को–को ?

नेपाली कांग्रेसबाट अहिले सरकारमा शेरबहादुर देउवा प्रधानमन्त्री, गृहमा बालकृष्ण खाण, परराष्ट्र मन्त्रीमा डा.नारायण खड्का कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ छन्। उनीहरूसबै देउवा निकट मानिन्छन्। 

देउवाले आफ्नो भागमा परेका ७ मध्ये तीन मन्त्रालयमा भने रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मन्त्री बनाउन चाहेको बुझिएको छ। जसमा पौडेल समूहभित्र मन्त्रीका लागि सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीको नाम चर्चामा छ।

यता कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जनाको नाम मन्त्रीमा चर्चा छ। गगन थापाले अन्तिम समयमा गुट परिवर्तन गरेको हुँदा सिटौला पक्षबाट मन्त्रीमा नाम नपठाईएको स्रोतको जिकिर छ।

Logo