गृह जिल्ला पुगेका ओलीलाई छिमेकी कुमारी लिम्बूले मास्क खोल्न लगाएपछि…

गृह जिल्ला पुगेका ओलीलाई छिमेकी कुमारी लिम्बूले मास्क खोल्न लगाएपछि…

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओली तीन दिने झापामा भ्रमणमा छन् । आइतबार बिहान काठमाडौंबाट झापा आइपुगेका उनले पारिवारिक र छिमेकीसँग भेटघाट गरेका छन् । 

झापाको भद्रपुर–१ स्थित पृथ्वी नगरमा ९३ वर्षीय बुबा मोहन ओलीलाई भेट्न पुगेका उनले सो क्रममा भाइ, भाइ बुहारीसहित छिमेकीसँग पनि भेटघाट गरेका छन् । 

परिवारका सदस्यसँग कुराकानीपछि पुराना नेता, ज्येष्ठ नागरिक, गाउँलेसँग भेटघाट गरेका उनलाई छिमेकी कर्णबहादुर कार्कीले सन्चो बिसन्चो सोधे । ओलीले पनि उनेकाबारे जिज्ञासा राखे । 

छिमेकी मन्दिरा कोइरालाले ओली आउँदा भेट हुने र आफूहरूको गुनासो सुन्ने गरेको बताइन् । 

अर्की छिमेकी कुमारी लिम्बूले ओलीलाई मास्क खोल्न लगाइन् । लिम्बूले मास्क खोल्न भनेपछि ओलीले खोलेका थिए । त्यसपछि उनीसँग ओलीले फोटो पनि खिचे । 

सोही क्रममा कलाकार विल्सन विक्रम राईले ओलीलाई भेट्न पृथ्वीनगर पुगेका थिए । उनले पनि ओलीसँग तस्बिर खिचे । 

झापामा पाँच हजारभन्दा बढी एमालेमा प्रवेश

एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा छन् । आइतबार बिहान झापा आइपुगेका उनी पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् । सो क्रममा उनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्नेमा जोड दिएका छन्। 

‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरूलाई एमाले प्रवेश गराइएको छ । 

करिब तीन हजार जना सहभागी कार्यक्रममा ओलीको उपस्थितिमा सुवास नेम्वाङ, लेखराज भट्टले टीका लगाएर नवप्रवेशीलाई स्वागत गरेका छन् । कार्यक्रममा साढे पाँच हजार जना एमालेमा प्रवेश गरेको जानकारी दिइयो । 

फेरि प्रधानमन्त्री बन्न केपी ओलीलाई बुबा मोहन ओलीको आशिर्वाद

एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन्। 

आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन्। घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ। मेरो आशीर्वाद पनि छ। प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ। फागुनपछि हुने योग छ। एकदम राम्रो योग छ। सफल होस् मेरो शुभकामना छ।’ 

काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मन पर्ने भन्दै मोहनले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने बताए। 

‘म काठमाडौं जान्नँ। उता घुम्न पाइन्नँ। घरभित्रै  थुनिनुपर्छ। यहाँ घुम्न पाइन्छ। ओखती उपचारमा सहयोग गर्नुपर्छ। छोरासँग बेला बेला फोनमा कुरा हुन्छ। काठमाडौं बोलाउँछ। तर, मलाई यतै ठिक लाग्छ। यता एक्लै डुल्न पाइन्छ। उता निस्किन पनि पाइँदैन’, ९३ वर्षीय मोहनले भने। झापाको भद्रपुर–१ मा बुबा तथा पारिवारिक सदस्यलाई भेट्न ओली पुगेका हुन्। 

एमाले अधिवेशन: अध्यक्ष ओलीकै वडामा भएन सहमति, निर्वाचन हुँदै

एमाले अध्यक्ष केपी ओलीको आफ्नै वडामा सहमति हुन नसक्दा अन्ततः वडा अधिवेशनमा निर्वाचन हुने देखिएको छ ।

अध्यक्ष ओलीले बस्दै आएको सूर्य विनायक नगरपालिका–२ बालकोट भक्तपुरको एमाले वडा अध्यक्षका लागि केशव खत्री र कविराज खडका दुवैले दाबी नछाडेपछि अन्ततः निर्वाचनमा जाने सहमति गरी शनिवार बिना निष्कर्ष अधिवेशन सकिएको थियो । वडा अधिवेशन उद्घाटन गर्दै ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर आफ्नै वडामा भने चुनाव हुने निश्चित भएको छ ।

यसअघि दुई दुई पटक अध्यक्ष भइसकेका खत्रीले तेस्रो पटक पनि अध्यक्षमा दाबी गरेका छन् भने युवा संघका नेता खड्काले नयाँ पुस्ताले नेतृत्व हस्तान्तरण गराउनु पर्ने भन्दै दाबी प्रस्तुत गरे पछि शनिवार सहमति हुन नसकेको एक नेताले बताए । 

उनका अनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यले उद्घाटन गरेको वडा अधिवेशनमा दुवैले दाबी नछाडेपछि आइतबार निर्वाचनबाट टुंग्याउने गरी अधिवेशन स्थगित गरिएको थियो । आइतबार बिहानको प्रयास पनि असफल भएपछि दुई बजेका लागि निर्वाचन गर्ने समय तय भएको छ । यसबिचमा दुवै पक्षलाई मिलाउन एमालेका स्थानीय नेताहरू लागिपरेको स्थानीय गोपाल खनालले जानकारी दिए। अधिवेशनबाट उपाध्यक्षमा विश्वराज विष्ट र सचिवमा रवि श्रेष्ठ भने सर्वसम्मत चयन भइसकेका छन्। 

एमालेका सबै पार्टी गतिविधि अब तुलसीलाल स्मृति प्रतिष्ठानबाटै हुने समझदारी

एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ।

आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। साे अवसरमा एमाले उपमहासचिव विष्णु पाैडेल, शंकर पाेखरेल, विष्णु रिमाललगायत उपस्थित थिए।

अब केही एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गर्ने सम्पूर्ण काम प्रतिष्ठानबाटै हुनेछन्। प्रतिष्ठानमा रहेका दुई हल एमालेकै पार्टी गतिविधिका लागि प्रयोग गर्ने सहमति भएको हो।

हुन त अहिले पनि एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक तुल्सीलाल प्रतिष्ठानमै बस्ने गरेको छ। एमालेको केन्द्रीय कार्यालय थापाथलीमा भए पनि ठाउँ अभावका कारण प्रतिष्ठानमा हुने गरेको छ।

 

 

Skip This
Skip This
Logo