अल्पमतमा रहेकी वाग्मती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन्। त्यसका लागि बिहान १० बजे वाग्मती प्रदेशसभा बैठक बस्दैछ।
मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ। आज बुधबार मतदान हुन लागेको हो।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ।
एमाले विभाजनको डिलमा रहेका बेला शाक्य मुख्यमन्त्री बनेकी थिइन्। तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा परेकी हुन्।
वाग्मतीमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति गरिसकेका छन्। जस अनुसार मुख्यमन्त्रीमा एकीकृत समाजवादी वाग्मती प्रदेशको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएकाे छ। कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनले शाक्यलाई विश्वासको मत दिने छैन।
वाग्मतीमा सभामुखसहित १०९ सांसद छन्। शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने भए पनि एमालेसँग ४३ मत मात्र छ। कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ। यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत छ।































प्रतिक्रिया