राजतन्त्र र कांग्रेसले सकेन अब माधव नेपालले एमाले सिद्ध्याउने रे, बिचरा दया लाग्छ: केपी ओली

राजतन्त्र र कांग्रेसले सकेन अब माधव नेपालले एमाले सिद्ध्याउने रे, बिचरा दया लाग्छ: केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राजतन्त्रले समाप्त पार्न नसकेको एमालेलाई समाप्त पार्ने सपना नदेख्न आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिद्ध्याउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दौडधुप देखेर दया लागेको बताए ।

‘समाजवाद ल्याउन लाग्यो भनेर एमालेलाई समाप्त पार्न खोजे । बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ । कहिले पोखरा, कहिले धरान धनकुटा, कहिले बागलुङ, कहिले कहाँ ? हातमा टोपी लिएर कुदेका छन् । देश बनाउन होइन, एमाले बिगार्न कुद्या छन्,’ उनले भने, ‘राणातन्त्रले मार्न नसकेको, कांग्रेसले प्रतिबन्ध लगाएर मास्न नसकेको, ०४६ सालमा कार्यकर्तामाथि देशभर मुद्दा लाग्दा सकिएन, राजतन्त्रले सकेन, कांग्रेसले सकेन । राजतन्त्र सिद्ध्याएर आएको पार्टीलाई अब सिद्ध्याउँछु, को लागेको छ भने माधव नेपाल ।’

 

माधव नेपाल डुलेर, कुदेर, तमासा गरेर केही फरक नपर्ने ओलीको भनाइ थियो । ‘एमाले सिद्ध्याउन कुदेका छन् । किन सिद्ध्याउने भन्दा यो साढे तीन वर्ष अचम्मै गर्‍यो । कोभिड महामारीमा विकास भएको छ, धरहरा उठेको छ, एकीकृत बस्ती निर्माण भइरहेको छ, बाटो निर्माण भइरहेको छ । अस्पताल बनेको छ । एमालेले सिद्ध्याउने भो भनेर भत् भत् पोल्यो । हाम्रो विकास देखेर हाम्रा विरोधीहरू आत्तिए । एमाले विरोधी भनेको देश विरोधी हो,’ उनले भने ।    

 

ओलीले कांग्रेसको पनि आलोचना गरे । सहकर्मी पार्टीलाई छोडेर दक्षिणपन्थी, प्रतिक्रियावादी र भँडुवालाई बोक्ने कांग्रेसको पहिलेकै परम्परा भन्दै ओलीले अहिले पनि देश भँडुवा, देश बिगार्वाहरुलाई कांग्रेसले बोकेकोमा आक्रोश पोखे ।

Logo