एमालेको संगठित सदस्य संख्या आठ लाख नाघ्याे: मोरङ पहिलो, झापा दोस्रो

एमालेको संगठित सदस्य संख्या आठ लाख नाघ्याे: मोरङ पहिलो, झापा दोस्रो

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ। १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो। 

एमाले  संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले न्यूज कारखानालाई दिएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये नाै जिल्लाको अन्तिम परीणाम विभागमा आउन बाँकी छ। उनका अनुसार ६८ जिल्लाको संगठित सदस्यको विवरण आइसकेको छ।

एमाले केन्द्रीय प्रचार विभागका सदस्य एवं प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सबै जिल्लाको तथ्यांक हेर्दा मोरङ सबैभन्दा बढी संगठित सदस्य भएको जिल्ला बनेको बताए। बस्नेतका अनुसार मोरङपछि झापा छ।

मोरङमा ३३ हजार ९ सय र झापामा २७ हजार ४ सय बढी संगठित सदस्य रहेको बस्नेतले बताए।  झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो।

एमाले संगठन विभाग सचिव भुजेलका अनुसार प्रदेश कमिटीले अन्तिम रुप दिए पनि संगठन बिभागमा अहिलेसम्म प्रदेश २ का चार जिल्ला सिरहा, सर्लाही, धनुषा, र महोत्तरी, बागमति प्रदेशको काठमाडौं र सुदुरपश्चिम प्रदेशको चार जिल्ला बझाङ, बैतडी, दार्चुला र अछामको अन्तिम सूची आउन बाँकी छ। 

‘नाै जिल्लाको अन्तिम विवरण आउन बाँकी छ, अन्य जिल्लाको संगठित सदस्यको बिवरण आइसकेको छ,' विभाग सचिव भुजेलले भने, ‘७ लाख ५० हजारको अनुमान गरिएको थियो, उल्लेख्य संख्यामा सदस्यता नविकरण भएको देखियो, ९ जिल्लाको अन्तिम बिवरण आउँदा ८ लाख ५ हजार नाघ्ने देखिएको छ।'

एमालेको महाधिवशन आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुँदैछ। एमालेले महाधिवेशनका लागि शुक्रबार देशैभर एकैपटक प्रतिनिधि छनोट गर्दैछ।

Logo