नेकपा (एमाले) आज शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ। वडा, नगर/गाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०-१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो। यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरिसकेका छन्।
एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ। जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो।
एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।
एमाले प्रचार विभागका अनुसार संगठित सदस्यको संख्या आठ लाख नाघिसकेको छ। एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दैछ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुनेछन्।
महाअधिवेशन प्रतिनिधि छनोटमा एमाले महोत्तरीमा चरम विवाद
नेकपा एमाले महोत्तरीको महाअधिवेशन छनोटमा चरम विवाद सिर्जना भएको छ। प्रदेश कमिटीका सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारीले समेत प्रतिनिधिका लागि दाबी गरेपछि विवाद सिर्जना भएको हो।
नेकपा एमालेले देशभरिबाट सनिबारसम्म प्रतिनिधि छनोट गरिसक्नु पर्ने निर्देशन दिए पनि महोत्तरीमा भने सर्वसम्मतिमा प्रतिनिधि छनोटमा निक्कै समस्या सिर्जना हुने स्थिति सिर्जना भएको छ। प्रतिनिधि छनोटको लागि शुक्रबार बसेको बैठकमा समेत विवाद सिर्जना भएपछि बिना निष्कर्ष स्थगित भएको थियो।
नेकपा एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीका अनुसार महोत्तरीमा अहिलेसम्म १७ हजार ७ सय सदस्य छन्। सदस्य संख्याको आधारमा नेकपा एमालेको विधानअनुसार झण्डै २८ जना प्रतिनिधि छान्नुपर्ने हुन्छ।
`सबै जनाको माहाअधिवेशन प्रतिनिधिमा दाबी भएको हुनाले सहमति हुन सकेको छैन तर हामी गृहकार्य गरिरहेका छौं,' इन्चार्ज बलाम्पाकीले भने।
दलित प्रतिनिधिको लागि भने आरक्षण कोटा भएको हुँदा कुनै विवाद नभएको पनि बलाम्पाकीले जानकारी दिए। अहिलेसम्म महाअधिवेशन प्रतिनिधिको लागि कोही पनि निर्विरोध चयन नभएको नेकपा एमाले महोत्तरीले जनाएको छ।





























प्रतिक्रिया