नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्ने बताएका छन् ।
सोमबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् । नेता थापाले भने, ‘आज अदालतमा यत्रो ठूलो समस्या देखिरहेका छौँ,अदालत स्वतन्त्र रहनु पर्छ, न्यायालय शुद्ध हुनुपर्छ, अदालत भित्रको नेतृत्व नै विचलित भयो भने त्यहाँ भित्र न्याय मर्छ र स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि काँग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ, त्यो कुरामा चुक्यो भने मतदाता रिसाउँछ हाम्रो मत घट्छ, नेपाली काँग्रेसको १२/१५ लाख यस्तो मतदाता छ, नेपाली काँग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मत हाल्दैन, दण्ड दिन्छ, त्यो मतदाता जोगाउनु पर्नेछ, ३५ लाख मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसले लिएर जानुपर्छ, मतदाता जम्मा पार्न अबको काँग्रेसले ४/५ वर्षमा के गर्छ भनेर बताउनु सक्नुपर्छ, काँग्रेसले ५ वर्ष मौका पायो भने के गर्छ भन्ने कुराको योजना बनाएर जनताको बीचमा जाने जसको आधारमा नयाँ मतदातालाई काँग्रेसलाई मत हाल्ने वातावरण होस् ।’
त्यस्तै आईतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा आफू विश्वस्त भएको उनले बताएका छन् । उनले निर्वाचन आयोगलाई बारम्बार दबाब दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताएका छन् । नेता थापाले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामूहिक क्षयीकरणको प्रमाण भएको बताए । उनले नेपाली कांग्रेसका नेताहरू पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक पटक चुकेको जिकिर गरेका छन् ।
नेता थापाले भने, ‘हिजो हामीले केन्द्रीय समितिको बैठक सम्पन्न गर्र्यौं, केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेपछि प्रदेशको निर्वाचनको संयोजकहरू तोकेका छौँ, अधिवेशनको निम्ति व्यवस्थापन गर्ने समितिहरू बनाएका छौँ, हिजोको बैठकपछि भने साथीहरूलाई अब अधिवेशन हुन्छ भन्ने कुराको ढुक्क भयो, ढुक्क हुनुभएको मैले पाएको छु, किनभने पार्टीले अब होटल नै बुक गर्न थाल्यो, हल नै बुक गर्न थाल्यो भनेपछि बल्ल अधिवेशन हुन्छ भन्ने कुराको साथीहरूलाई ढुक्क भएको अवस्था छ,यद्यपि कतिपय जिल्लामा अझै पनि प्रारम्भिक अधिवेशनहरू सम्पन्न भइरहेको, कतिपय ठाउँमा अझै विवाद छ, केही साथीहरू अनसन बसिरहनु भएको छ, केही साथीहरू अनसन बस्ने तयारीमा हुनुहुन्छ, नेपाली काँग्रेस जस्तो पार्टीको अधिवेशनको सन्दर्भमा अधिवेशन आउनु भन्दा १५/२० दिन अघिसम्म पनि पार्टीको जिम्मा दिएको साथीहरूलाई अधिवेशन हुन्छ कि हुँदैन भन्ने अलमल रहने कुरा आफैँमा हामी कति तल झरिसक्यौँ भन्ने कुराको प्रमाण हो, हामीले आफ्नो अधिवेशनको बारेमा ढुक्क भएर हुन्छ भन्ने अवस्था बनेन, यसलाई हामीले जति भने पनि हामीले निर्वाचन आयोगलाई तारनतार दबाब नदिएको भए पुसको पहिलो साता भित्र निर्वाचन आयोगलाई नेतृत्वको नाम बुझाउनै पर्छ भन्ने अनिवार्यता नरहेको भए सायद अधिवेशन हामी एक/दुई महिना टाथ्र्यौं होला, समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले सामूहिक क्षयीकरणको प्रमाण हो, नेपाली काँग्रेसका नेताहरू पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक–पटक चुकेका छन् ।’
नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके काँग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गरेका छन् ।





























प्रतिक्रिया