कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनको लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्। शाही गएको कात्तिक १६ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्री नियुक्त भएका हुन्। आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गरेर आजै मत विभाजन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभामा हाल कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ मत आवश्यक पर्छ। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीसहितका सत्तारुढ गठबन्धनसँग हाल २१ मत छ। प्रदेशसभामा स्पष्ट बहुमत देखिएकाले शाहीले विश्वासको मत पाउने लगभग निश्चित जस्तै छ।
प्रदेशसभामा माओवादी केन्द्रको १२, कांग्रेसको ६ समाजवादीका ३ जना सांसद छन्। यसैबीच आज बस्ने प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने अनुपस्थित हुने भएको छ।
आफ्ना सबै सांसद पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा भाग लिन चितवन गएकाले बैठकमा सहभागी हुन नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए। एमाले अनुपस्थित भए पनि आजको बैठक नरोकिने सभामुख राजबहादुर शाहीले बताए।





























प्रतिक्रिया