आफ्ना नेता कार्यकर्तालाई देउवाले भने–अर्काको पार्टीको चिन्ता नगर्नुहोस्

आफ्ना नेता कार्यकर्तालाई देउवाले भने–अर्काको पार्टीको चिन्ता नगर्नुहोस्

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरूको पार्टीको चिन्ता नगर्न नेताहरूलाई नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

मंगलवार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरूको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हुन् । उनले विगतका दिनमा पार्टी भित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकताबद्ध भएर पार्टीलाई अघि बढाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले अरूको पार्टीमा आँखा लायन छोडेर आफ्नो पार्टीलाई अरूको भन्दा ठुलो पार्टी बनाउन जोड दिनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ । हामी सबै एक भएर जानु छ, एकजुट हुनु छ । तपाईँहरूलाई थाहै छ, सत्य कुरा लुक्दैन । पार्टी भित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए । आगामी दिनमा यो पार्टीलाई एकताबद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ । हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरूको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ । अरूको पार्टीको चिन्ता उनीहरूलाई गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाउँ । उहाँहरूको भन्दा ठुलो पार्टी बनाउँ ।’

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए । उनले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे । प्रधानमन्त्री देउवाले बुढापाकाहरूलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन सुझाएका छन् ।

प्रधानमन्त्री देउवाले भने, ‘अहिले हाम्रो विश्वप्रकाशले अति महत्त्वपूर्ण कुरा उठाउनु भएको छ । उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईहरुले । उहाँको समयमा उहाँले कति गर्नुहुन्छ । अरूलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । उहाँलाई आफ्नो बेलामा गरेर देखाउनु होला भनेर शुभकामना दिन चाहन्छु । अहिले नहतारिनुस्, अहिले हत्तारिएर के गर्नुहुन्छ पछि ? समय आइहाल्छ नि । त्यस्तै प्रकाश महतजीले पनि भन्नुभयो, निर्णय नै गर्न सक्दैन निर्णय ढिलोढिलो गर्छ भनेर । निर्णय भन्दैमा जथाभाबी गर्नु, जे पायो त्यही त गर्नु भएन नि । निर्णय भनेको सोचविचारले गर्नुपर्छ । निर्णय गरेर पछुताउनु भन्दा ढिलो निर्णय गर्नु बेस हुन्छ । सोच विचार गरेर गर्नुपर्छ । त्यस कारण तपाईँहरूलाई भोलि निर्णय गर् निर्णय गर् भनेर फसाउलान् नि । निर्णय गर्ने इच्छा राख्नु भएका नेता हुनुहुन्छ, को हुन्छ त थाहा छैन, नेता हुने इच्छा चाहिँ छ, भविष्यमा सफल हुनुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु । त्यसैले अर्ति भनेको बुढापाकाहरूबाट सिक्नुपर्छ क्या, त्यस कारण बुढापाकालाई अर्ति दिने होइन, अर्ति लिने गर्नुहोस् । त्यस कारण हाम्रो अर्ति सुनेर काम गर्नुहोला । हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । बिपीले हतार गर्नुभएन, कृष्णजीले हतार गर्नुभएन पालो आउँछ । तपाईँको पालो आइहाल्छ हतार नगर्नुस् ।’

प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण समशेर जबराले पार्टीको लागि र प्रजातन्त्र कोल लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताएका छन् ।

Logo