देशमा चुनावी माहौल बन्दै गएको माओवादी अध्यक्ष दाहालको भनाई

देशमा चुनावी माहौल बन्दै गएको माओवादी अध्यक्ष दाहालको भनाई

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा चुनावी माहौल तयार भइरहेको बताएका छन् । रुपन्देहीका पार्टी नेता रामप्रसाद बन्जाडे (टंकमणि)को निधन भएको सातौँ दिनको पुण्यतिथीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

विभिन्न पार्टीका अधिवेशन तथा सम्मेलन सम्पन्न भइरहनुले पनि चुनावी माहोल तयार हुँदै गएको दाहालले उल्लेख गरे । उनले भने, 'विभिन्न पार्टीका सम्मेलन र महाधिवेशनले चुनावको तयारी भइरहेको संकेत गरेको छ, चुनावको वातावरण तयार हुँदैछ, राजनीतिक स्थायित्वको लागि चुनाव आवश्यक छ, यसलाई निष्पक्ष र धाँधलीरहित बनाउनुपर्छ ।'

उनले पार्टी नेता बन्जाडेको निधनले पार्टीलाई ठुलो क्षति पुगेको पनि बताएका छन् । जनयुद्धकालदेखि नै जस्तोसुकै जोखिम मोलेर पनि पार्टीको काममा अहोरात्र खट्ने बन्जाडेको विशिष्ट प्रकारको स्वभाव र शैली रहेको उनको भनाई थियो । 

बन्जाडेले परिकल्पना गरेको सहिद पार्क निर्माणको सपनालाई साकार पार्न पार्टीले पहल गर्ने भन्दै त्यो पार्कमा बन्जाडेको सालिक राख्न पनि स्थानीय पार्टीलाई उनले आग्रह गरे । मृतक बन्जाडेको जीवन समेटेर पुस्तक प्रकाशन गर्न पनि पार्टी नेताहरूलाई प्रचण्डले आग्रह गरे ।

पार्टीका जिल्ला संयोजक नारायण जिसी (निर्मल) को अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा मृतक बन्जाडेकी श्रीमती खुमा बन्जाडे, पार्टी नेताहरू चक्रपाणि खनाल, पूर्णबहादुर घर्ती तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले शोक मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष प्रचण्ड मंगलबार रुपन्देही पार्टीको आन्तरिक प्रशिक्षणमा पनि सहभागी भएको जिल्ला संयोजक नारायण जिसी (निर्मल) ले जानकारी दिए ।

Skip This
Skip This
Logo