पार्टीमा काम गर्ने विषयमा भोलिदेखि सोचौंला, म केन्द्रीय सदस्यमा निर्वाचित भएको होइन: रावल

पार्टीमा काम गर्ने विषयमा भोलिदेखि सोचौंला, म केन्द्रीय सदस्यमा निर्वाचित भएको होइन: रावल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले आफू केन्द्रीय सदस्यमा निर्वाचित नभएको बताएका छन् । केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचित एमालेको नयाँ नेतृत्वको सपथग्रहण कार्यक्रमबाट बाहिरिँदै नेता रावलले आफू केन्द्रीय सदस्यमा निर्वाचित नभएको बताएका हुन्। 

आफू केन्द्रीय अध्यक्ष पदको मात्र उम्मेद्वार भएको भन्दै उम्मेद्वारी नै नदिएको पदमा आफू निर्वाचित हुने भन्ने कुरा नरहेको नेता रावलले बताए। ‘म केन्द्रीय सदस्यको उम्मेद्वार नै होइन । मैले अध्यक्ष पदमा मात्र उम्मेद्वारी दिएको हो सदस्य पदमा होइन । मैले निर्वाचन आयोगमा पनि कुरा राखेको थिएँ’, नेता रावलले भने, ‘आयोगले तपाइँले दुइटै पदको लेख्नुभयो भने दुइटै हुन्छ, एउटामा मात्र राख्‍नुभयो भने एउटा मात्र हुन्छ भन्नुभएको थियो। विद्युतीय पर्दामा नाम सार्दा भेटें। तर म निर्वाचित केन्द्रीय सदस्य होइन।’

उनले उम्मेद्वारी दिँदै नदिएको पदमा निर्वाचित हुने भन्ने कुरा नभएको बताए। भने, ‘उम्मेद्वारी दिँदै  नदिएको पदमा निर्वाचित हुने कुरै भएन। यो कुरा मैले अघि मञ्चमा आयोगका अध्यक्ष र महासचिव (अहिलेका बरिष्ठ उपाध्यक्ष)सँग पनि राखेको छु।’

अध्यक्षको उम्मेद्वारका रुपमा आफूले पाएको मतलाई महत्वपूर्ण रुपमा लिएको रावलले बताए। ‘निर्वाचनमा मैले जुन मत प्राप्त गरें त्यो मतलाई मैले जुन विषय उठाएको थिएँ, त्यसलाई मैले महत्वपूर्ण रुपमा लिएको छु।’ 

पार्टीमा क्रियाशिल रहने वा नरहने भन्ने सन्दर्भमा भने अहिले नै केही सोचिनसकेको रावलले प्रतिक्रिया दिए । रावलले भने, ‘भर्खरै महाधिवेशन सकियो, पार्टीमा काम गर्ने विषयमा भोलिदेखि सोचौंला नि।’

महाधिवेशनले विधान महाधिवेशनबाट पारित गरेका विधान तथा नीतिहरु, जनताको बहुदलीय जनवाद अन्तर्गत अगाडि सारेका कुराहरुलाई सम्बोधन गर्न नसकेको बताए। व्यवस्थापनको सन्दर्भमा पनि रातिराति महाधिवेशनका कार्यक्रमहरु सम्पन्न गर्नुपर्दा केही असहज भएको बताए। 

समग्र महाधिवेशनका विषयमा भने काठमाडौं आएर प्रतिक्रिया दिने उनकाे भनाइ थियाे। ‘समग्रतामा यो महाधिवेशनले विधान महाधिवेशनबाट पारित गरेका विधान, त्यसले जबजका अन्तर्गतका कुराहरु अगाडि सारेका थियौं , त्यसलाई सम्बोधन गर्न सकेन’, रावलले भने, ‘व्यवस्थापनको दृष्टिकोणबाट पनि जसरी दिउँसो गर्न सकिएन राति-राति गर्‍यौं । यद्यपी यो सम्पन्न भएको छ। अन्य विविध पक्षको विवेचना काठमाडौंमा आएर गर्छु।’

Logo