कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, शेखरलाई कमजाेर पार्ने देउवा-पाैडेल रणनीति फेल

कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, शेखरलाई कमजाेर पार्ने देउवा-पाैडेल रणनीति फेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचकाे चुनावी तालमेलले फेल खाएको छ।

पहिलो चरणकाे मतदानले जिल्ला सभापतिकाे छिनाेफानाे गर्न नसकेपछि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल भएको थियो। केन्द्रीय सभापतिका आकांक्षीसमेत रहेका कोइराला पक्षका उमेद्वारलाई हराएर शेखरको गृहजिल्लामै कमजोर छन् भन्ने सन्देश दिन खोजिए पनि मंगलबारको मतपरिणामले तालमेललाई उल्टाइदिएको छ।

पहिलो चरणमा संस्थापन देउवा पक्षका दिलीप गच्छदार, संस्थापनइतर कोइराला पक्षका डिकबहादुर लिम्बु र कृष्णप्रसाद सिटौला पक्षका यदु विष्टबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणको चुनावमा लिम्बुले सर्वाधिक १ हजार ५४४, गच्छदारले १ हजार १६६ र विष्टले ५६३ मत ल्याए। कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले मंगलवार पुनः मतदान भएको थियो।

मंगलबार भएको मतदानमा कोइराला पक्षका लिम्बुलाई घेराबन्दी  गरे पनि मतदाताले भने त्यसलाई विफल बनाइदिएका छन्। मंगलबार मध्यरातमा सार्वजनिक मतपरिणाम अनुसार लिम्बुले १ हजार ९ सय ६ मत प्राप्त गरी जिल्ला सभापतिमा विजयी हुँदा गच्छदारले १ हजार ४२५ मत पाए।

मंसिर १२ गते भएको मतदानमा तेस्रो मत प्राप्त गरेका विष्टले संस्थापन पक्षका गच्छदारलाई समर्थन गरेका थिए । विराटनगर महानगरका मेयर भीम पराजुलीले पनि शेखर कोइरालाको साथ छाडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन्। सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरेका हुन् । सभापतिका आकांक्षी डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा उनी समर्थित उम्मेद्वार लिम्बुलाई पराजित गर्न देउवा, पौडेल, सिटौला पक्ष सबै एक ठाउँमा आएका थिए। 

Logo