वाग्मती प्रदेशमा आज नियुक्त भएका पाँच मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम थप गरेका मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्मा र राज्यमन्त्रीलाई नेपालको संविधानको धारा १७२ अनुसार पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
प्रदेश प्रमुख शर्माबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा माओवादी केन्द्रबाट चितवनका घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रीमा एकीकृत समाजवादीबाट काठमाडौंका वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीबाट काभ्रेका वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रबाट काभ्रेका रत्नप्रसाद ढकालले शपथ लिएका हुन्।
यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीबाट सिन्धुपाल्चोकका इन्द्रमाया गुरुङले मुख्यमन्त्री पाण्डेबाट आजै शपथ लिएकी छिन्।
आज वाग्मतीमा सरकार विस्तार भएसँगै मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्य मन्त्रीको सरकार बनेको छ ।
मुख्यमन्त्री पाण्डेले यसअघि नै कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तानलाई सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला, माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलाई आर्थिक मामिला र कांग्रेस सांसद निमा लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए।
वाग्मती प्रदेशमा अहिले ८ वटा मन्त्रालय फुटाएर चौध वटा बनाइएको छ।































प्रतिक्रिया