नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ। बुधबार १४औँ महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो।
नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले बताए। उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरुको सरसफाई थालिएको बताए। पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाई गरिएको हो।
नेता शर्माले भने, ‘प्रचारप्रसार सामग्रीहरु जति हामीले टाँसेका थियौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको क्रममा प्रचारप्रसार भयो। केन्द्रिय प्रचारप्रसार समितिले उपत्यकाव्यापी जुन एक हप्ते प्रचार अभियान गरेको थियो। त्यसक्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिअन्तर्गत सबै साथीहरु मिलेर हामी सरसफाई गर्ने क्रममा लागेका छौँ। प्रदर्शनीमार्गमा हामीले सबै सामग्री सफाई गरेका छौँ।’
मंसिर २४ गतेबाट शुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ। अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मतगणना भने बाँकी छ। १४औँ पार्टी केन्द्रिय महाधिवेशनबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा विजयी बनेका छन्।
पहिलो चरणमा नेपाली कांग्रेसको विधानअनुसार सभापतिका ५उम्मेदवार कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणको मतदान भएको थियो। जसमा शेरबहादुर देउवाले २,७३३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १,८५५ मत प्राप्त गरे। दोस्रो चरणका लागि भएको मतदानमा ४ हजार ६२३ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् २,३११ मतको आवश्यक पर्दथ्यो। खसेको मतमध्ये ३५ मत भने बदर भएको थियो।





























प्रतिक्रिया