कांग्रेस महाधिवेशन: सबै पदको मतगणना सम्पन्न, खसआर्य तर्फ काे-काे विजयी?

कांग्रेस महाधिवेशन: सबै पदको मतगणना सम्पन्न, खसआर्य तर्फ काे-काे विजयी?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सबै पदको मतगणना सम्पन्न भएको हो।

कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सबै पदको मतगणना सम्पन्न भएकाले आजै रातिसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए। कांग्रेसले यसअघि पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्य, प्रदेश पुरुष तथा महिला केन्द्रीय सदस्य, दलित महिला तथा पुरुष केन्द्रीय सदस्य, मुस्लिम, थारु, मधेसीलगायत क्लस्टरअनुसारको मतगणना सम्पन्न गरिसकेको छ।

बाँकी रहेका आदिवासी जनजाति केन्द्रीय सदस्य, खस आर्य केन्द्रीय सदस्य महिला तथा पुरुषको पनि गणना सकिएकाले आजै सबै सूची सार्वजनिक गरिने संयोजक घिमिरेले जानकारी दिए। निर्वाचित उम्मेद्वारलाई भोलि प्रमाणपत्र वितरण गर्ने कार्यक्रमसमेत निर्वाचन समितिले गरेको छ।

कांग्रेसले १४औँ महाधिवेशनमा १३४ कार्यसमितिका लागि निर्वाचन गरेको थियो। निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। कांग्रेसको १४औँ महाधिवेशनबाट वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन्। 

यसैबीच खसआर्यतर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। आज सार्वजनिक परिणाममा खसआर्य खुलातर्फ सात पदका लागि भएको निर्वाचनमा केशव कुमार बुढाथोकी, गोविन्द कुमार शाह, भीम पराजुली, श्यामकुमार घिमिरे, नारायण बहादुर कार्की, गेहेन्द्र गिरी र मधु आचार्य निर्वाचित भएका छन्। आचार्य शेखर कोइराला प्यानलका हुन् भने अन्य उम्मेद्वार शेरबहादुर देउवा प्यानलका हुन्।

त्यस्तै खसआर्य महिलातर्फ मञ्जु खाण, नानू बास्तोला, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्या तिमल्सिना निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। गौतम कोइराला प्यानलकी हुन् भने अन्य देउवा प्यानलका हुन्।

Logo