सत्तासाझेदार राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट बञ्चित गराएको दावी गर्दै आपत्ति जनाएका छन्।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले तराई÷मधेशका लाखौं नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट पनि बञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नागरिकता सम्बन्धि ऐन अझै बन्न नसकेको स्मरण गराए। अध्यक्ष यादवले संघीयताको कार्यान्वयनसमेत इमान्दार ढंगले नभएको बताए।
अध्यक्ष यादवले संघीयता कार्यान्वयनका लागि अझै संघीय निजामती ऐनसमेत आउन नसकेको गुनासो गरे। कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेताहरुले पहाडैपहाड भएको मुलुकलाई भ्यू टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्न इन्जिनियरहरुलाई आग्रह गरे । उनले दक्षिण एशीयाली मुलुकहरु प्राविधिकहरुको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए।
अध्यक्ष भट्टराईले नेपालमा विकास, निर्माणलाई अघि बढ्नै नदिने खालका सोचहरु आइरहेको भन्दै चिन्तासमेत व्यक्त गरे।





























प्रतिक्रिया