नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिक परिवर्तनमा सफलता हासिल गरेको पार्टी पछिल्ला समय कमजोर देखिनुका पछाडि गम्भीर आत्मसीक्षा गरिने बताएका छन्। माओवादीको आइतबारदेखि सुरु आठौँ राष्ट्रिय महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले शान्तिप्रक्रियापछि विचार, सङ्गठन, संरचना, कार्यनीति र कार्यशैलीमा कहाँ चुक्यौं भनेर आत्मसमीक्षा गरिने बताएका हुन्।
महाधिवशेनमा पेश गर्न आफूले तयार गरेको राजनीतिक प्रतिवेदनमा आफूले पहिलो आत्मसमीक्षा गरेको उल्लेख गर्दै उनले भने, “जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो, बाह्रबुँदे र शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने, संयुक्त जनआन्दोलन उठाउने, संविधान निर्माणमा नेतृत्व गर्ने अवसर मलाई जुट्यो । तर पछिल्ला समय माओवादी आन्दोलन कमजोर देखिनुमा प्रमुख नेताको मैले आफैँलाई समीक्षा गरेको छु।”
नेपालका कम्युनिष्ट शक्तिबीच ध्रुवीकृत गर्ने उद्देश्यले माओवादी र नेकपा (एमाले) बीच पार्टी एकता गरेर गल्ती गरिएको थिएन भन्दै उनले के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ भनेर दुवै पक्षले समीक्षा गर्नुपर्ने बताए। “त्यसको समीक्षा गरौँ, हामीले गल्ती गरेका थिएनौँ। हामीले यो देशलाई स्थायित्व र समाजवादतर्फ लैजाने सपना पूरा गर्ने उद्देश्य राखेका थियौँ”, प्रचण्डले भने।
महाधिवशेनपछि माओवादीलाई मात्र नभई देश र जनतालाई नयाँ उत्साह दिन चाहेको उनको भनाइ छ। मधेसी जनताका हक अधिकारका लागि आफूले प्रधानमन्त्रीको हैसियतमा संविधान संशोधनको विषय उठान गरेको उल्लेख गर्दै उनले मधेसी र आदिवासी जनजातिको हकअधिकार संरक्षणका लागि आफूले पहल गरेको स्मरण गरे।
पछिल्लो चरण पार्टीमा विचार सुशासन जनताको आकांक्षा पूरा गर्न गरिबलाई राहत दिन विभिन्न पार्टीसँग नजिक भएर काम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा गठबन्धनभन्दा अगाडि बढेर जान आफूहरू तयार रहेको बताए। राजनीतिमा इमान्दारिता आवश्यक रहेको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र आफूले एक अर्कालाई प्रधानमन्त्रीमा समर्थन गरेर नमूना प्रस्तुत गरेको बताए। प्रधानमन्त्रीले वर्तमान गठबन्धनलाई चुनावपछि सम्म पनि लैजाने बताएको सन्दर्भ कोट्याउँदै दाहालले प्रधानमन्त्रीले राष्ट्रले आवश्यक ठानेको अवस्थामा उचित कदम लिने गरेको बताए।
प्रतिवेदनमार्फत आफूले अन्तर्राष्ट्रिय परिस्थितिको अध्ययन र गम्भीर समीक्षा, समाजवाद र पूँजीवादबीचको अन्तर, उत्पादन सम्बन्धका अवस्थाका सम्बन्धमा नयाँ निष्कर्ष दिन खोजिएको उनले बताए। “नेपालको ऐतिहासिक पृष्ठभूमिसहित हामी कहाँ आइपुगेका छौँ, नेपालको अगाडि देखिएका चुनौतीलाई समाधान गर्न खोजिएको छ”, उनले भने।
“विज्ञान प्रविधिको विकासको विश्व अर्थतन्त्रमा कस्तो प्रभाव छ? अर्थनीति, मानिसको आपसी सम्बन्धमा कस्तो प्रभाव छ? समीक्षा गरिएको छ। विज्ञान प्रविधिले समाजवादलाई अस्वीकार गरेको छ की समाजवाद नभइ नहुने भनेको छ ? वित्तीय पूँजीवादको वर्चश्वले धनी र गरिबको खाडल बढेको छ कि घटेको छ ? सीमित विकसित देशमा केन्द्रीत भएको साधनस्रोत र पूँजी तथा अल्पविकसित मुलुकमा दरार पैदा भएको छ। त्यसकारण समाजवाद झन आवश्यक भएको प्रतिवेदनमा उल्लेख छ”, अध्यक्ष दाहालले भने।
कस्तो कार्यदिशा अनुसार समाजवाद उन्मुख समृद्धि भनेको हो, त्यो समाजवाद उन्मुख समृद्धि हुँदै सामाजिक न्याय, उत्पीडित वर्ग जाती क्षेत्र समुदायको हक अधिकारलाई संरक्षण गर्ने के उपाय हुन्छ भन्ने विषयमा परिमार्जित रणनीति र कार्यनीति प्रस्तुत गरिएको उनले बताए।































प्रतिक्रिया