माधव नेपाल पनि पार्टी एकताकाे दौडमा

माधव नेपाल पनि पार्टी एकताकाे दौडमा

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन्। आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ। यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन्। 

आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्रका अधिकांश वक्ताहरूले दलहरूबीचको सहकार्य र एकताको आवश्यकता औँल्याउँदै वामपन्थी पार्टीका नेताहरूले पार्टी एकतामा जोड दिएका थिए। एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेकपाको विघटनको दोष एकअर्कालाई लगाउने प्रयास गरेका नेताहरूले अन्ततः पार्टी विभाजनको आत्मसमीक्षा गर्दै पार्टी एकतामा जोड दिए। 

यसको तेस्रो दिन मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण हुँदैछ। राष्ट्रिय सभागृहमा मंगलबार मध्यान्ह साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ। सोही कार्यक्रममार्फत पार्टी एकता घोषणा गर्न लागिएको हो। 

साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वाेच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए। आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए। एकीकृत समाजवादीलाई ९ भदाैमा निर्वाचन आयाेगले दलकाे मान्यता दिएकाे थियाे।

नयाँ दल दर्ता गरेकाे पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन्। केही दिनअघि उनले १३ पुसमा विभिन्न दलबीच एकता हुने घाेषणाा गरेका थिए। एमालेले चुनावलाई लक्षित गर्दै विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउने अभियानलाई तीव्रता दिएकाे छ।

Logo