नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाएका छन्।
मेडिकल कलेज सञ्चालकसमेत रहेका उपप्रमुख प्रसाईँले नेपाली कांग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्कसमेत गरे ।
उपप्रमुख प्रसाईले भने, ‘२०४६ सालपछि २०६० सालसम्म नेपाली कांग्रेसको अधिकांश समय सत्तारोहण भयो। त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए । तपाईंहरुलाई म यो स्मरण गराउन चाहन्छु । जव नेपाली कांग्रेसको हातमा राजनीतिक सत्ता गइसकेपछि उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी बन्द भयो । र हाम्रा युवाहरु विदेश पलायन हुन बाध्य भए । हरियो पार्सपोर्टको खेती मौलायो । डाटाले भन्छ – अहिले दैनिक ३ हजार युवाहरु विदेश जाँदैछन् बैदेशिक रोजगारीका लागि।’
उपप्रमुख प्रसाईँले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको दावीसमेत गरे। ओलीले संविधानसम्मत ढंगले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ थियो।





























प्रतिक्रिया