नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन्।
पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ। शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरे पनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतीमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडि बढाइएको छ।
चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत पनि बन्दसत्रमा उठेको भएपनि बढीभन्दा बढी प्रतिनिधिहरुले भने पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।
महाधिवेशनका प्रतिनिधि चक्रपाणि शर्मा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने पार्टीले निर्णय गरेमा स्वीकार गर्नुपर्ने बताउँछन्। पार्टीभन्दा बाहिर गएर नहुने भन्दै पार्टीले छलफल गरेरै टुंग्याउने उनले बताए।
प्रतिनिधि डा. कृष्णप्रसाद खनाल माओवादी पार्टीभित्र चुनावको संस्कार विकसित नभएको अवस्थामा सर्वसम्मत रुपले कमिटी निर्माण गर्नुपर्ने बताउँछन्। पार्टीले संगठित रुपमा आकार नलिइरहेको अवस्थामा चुनाव गर्नु नहुने पक्षमा उनको मत छ। चुनाव गराउनु भनेको गुटबन्दीको सिर्जना गर्नु हुने उनको तर्क छ।
प्रतिनिधि लिलाधर खनाल भने प्रतिस्पर्धा भएमा पार्टी स्वच्छ र मजबुद बन्ने बताउँछन्। प्रतिस्पर्धाबाट आएमा नेताहरुले आफ्नो क्षमता देखाएर अगाडि बढ्न सक्ने उनले बताए।
त्यसैगरी, प्रतिनिधि परशुराम रिमालले पार्टीले चुनाव नै गरे पनि विद्यमान प्रणालीभन्दा फरक प्रकारको जनवादी चुनावको अभ्यास गर्नुपर्ने बताए। हाल माओवादी केन्द्रको कार्यकर्तामा चुनावमा जाने खालको चेतना नभएको भन्दै उनले चुनाव गरे पार्टी नबन्ने बताए। सहमति, सहकार्यबाट मात्रै पार्टी गतिलो बन्ने उनले बताए।
प्रतिनिधि वीरबहादुर रायमाझी पार्टीमा सक्रिय र इमान्दार कार्यकर्ताले ठाउँ पाउनुपर्ने बताउँछन्। चुनाव भएमा पैसावाल मान्छेहरुको हालिमुहाली हुने भएकाले चुनाव गर्न नहुने उनको भनाइ छ । चुनावी प्रणालीलाई नमान्ने उनको भनाइ छ ।
प्रतिनिधि टेकनाथ न्यौपाने पनि चुनावको लडाइँभन्दा पार्टीलाई सर्वसम्मत् रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिन्छन्। उनले चुनावलाई केवल जित र हारको संज्ञा दिँदै सर्वसम्मतीमा कसैले जित्ने हार्ने नहुने टिप्पणी गरे। पार्टीलाई बलियो बनाउन चुनावको विकल्प खोज्नुपर्ने उनले बताए।





























प्रतिक्रिया