युवाको बलमा राप्रपा उठ्छ, उठाउँछौँ–अध्यक्ष थापा

युवाको बलमा राप्रपा उठ्छ, उठाउँछौँ–अध्यक्ष थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रुपमा उठाएरै छाड्ने दृढता व्यक्त गरेका छन् । आइतबार पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरुसँग भर्चुअल बैठकको सम्बोधन गर्दै अध्यक्ष थापाले त्यस्तो बताएका हुन् । उनले भने–‘पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई जनतामाझ पठाएर युवा पुस्ताको बलमा राप्रपा उठ्छ, उठाउँछौँ ।’

नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने उनको दाबी छ । पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई जनतामाझ जान आग्रह गर्दै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए ।

त्यस्तै राप्रपाको एकतालाई चाँडो भन्दा चाँडो टुंगो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोशा योग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागिहरुलाई विश्वास दिलाए । पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीतापूर्वक लाग्ने थापाको भनाइ छ । गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्नेमा जोड दिए ।

त्यस्तैगरी अध्यक्ष थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना संकट, पार्टी एकता र भावी कार्ययोजनाबारे पछिल्लो समय प्रविधिको सदुपयोग गर्दै निरन्तर बैठक गरिरहेका छन् । उनले जनवर्गीय संगठनका नेताहरुले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्ने गरी सांगठनिक गतिविधिलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । बैठकमा २१ जनवर्गीय संगठनका प्रमुख र पदाधिकारीहरुको सहभागिता रहेको पार्टी सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए ।

Logo