आज गठबन्धनको वैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने

आज गठबन्धनको वैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न आज सत्ता साझेदार दलहरुको बैठक बस्दै छ। बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सत्ता साझेदार दलहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने विषयमा पनि छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यद्यपि आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव नै बैठकको मुख्य एजेण्डा रहेको स्रोतले बतायो। सत्ता साझेदार दलहरु गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा छन् । राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २० गते (मंगलबार) उम्मेदवारी दर्ताको कार्यक्रम छ। २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराहृन ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ। त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको थियो।

आउँदो फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन्। एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एक जना सांसद बिदा हुने क्रममा छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि  माघ १२ गते ७ वटै प्रदेशमा चुनाव हुँदैछ। सत्ता गठबन्धन आबद्ध दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन्।

प्रतिपक्षी नेकपा एमाले भने एक्लै चुनावमा जानुपर्ने अवस्था देखिन्छ। यस्तो अवस्थामा एमालेलाई पहिलेका ८ वटा सिट जोगाउनु पर्ने चुनौती देखिएकाे छ। 

फाइल फाेटाे

Logo