नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान जाने भएका छन्। विभिन्न ४ कार्यक्रममा सहभागी हुन उनी धरान जान लागेका हुन्।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईका अनुसार बिहान १० बजेदेखि विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका मिलाइएको छ।
उनका अनुसार सर्वप्रथम नेपाली कांग्रेस धरान नगर समितिको कार्यालय उद्घाटनका लागि समय मिलाइएको छ। त्यसपछि सिधै उपमहानगरपालिकाले २६ करोड लगानीमा निर्माण गरेको फोहोरमैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
यस्तै धरानमा बसपार्क निर्माणाधीन रहेकाले त्यसको उपलब्धि जानकारी लिनका लागि समय मिलाइएको छ।
त्यसपछि सुनसरी कांग्रेसका नेताहरूसँग भेटघाटको व्यवस्था मिलाइएको छ। खानापछि धरान महोत्सवमा सहभागी भएर प्रधानमन्त्री देउवा दिउँसो ४ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएकाे छ।





























प्रतिक्रिया