१४ औं महाधिवेशनबाट काँग्रेसमा युवा नेताले नेतृत्व पाउने सम्भावना कति ?

१४ औं महाधिवेशनबाट काँग्रेसमा युवा नेताले नेतृत्व पाउने सम्भावना कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसको आशन्न १४ औं महाधिवेशनलाई यतिबेला कोरोना संक्रमणले ओझेलमा पारेको छ । हालसम्म पछिल्लो पटक महाधिवेशनका लागि तोकिएको निर्धारित समय फागुन ७ देखि १० गतेसम्म हो । अहिलेकै अवस्था रहिरहे सो मितिमा काँग्रेसले महाधिवेशन गर्न सक्ने अवस्था छैन । किनकी महाधिवेशनका लागि गर्नु पर्ने वडास्तरका कार्यहरु अहिलेसम्म शुरु नै भएका छैनन् । त्यसैले पनि सो मितिमा महाधिवेशन गर्न नसकिने काँग्रेस सभापति शेरबहादुर देउवाले बताउँदै आएका छन् । शुक्रबार मात्र उनले फागुनमा महाधिवेशन हुन नसक्ने र आगामी भदौसम्म हुने बताएका छन् ।

अधिवेशन निर्धारित समयमै होला नहोला त्यो आफ्नै ठाउँमा छ । यतिबेला काँग्रेसमा उठेको अर्को चर्चा के अबको महाधिवेशनबाट काँग्रेसमा युवानेताहरुले नेतृत्व गर्ने अवसर पाउलान् ? यो काँग्रेसमा धेरै पहिलेदेखि उठेको तर अहिलेसम्म पुरा हुन नसकेको विषय हो । यो सँगै यतिबेला काँग्रेसमा युवा नेताहरुले चाहिं नेतृत्व लिन खोजेका छन् कि छैनन् भन्ने विषय पनि चासोका रुपमा उठेको छ । अघिल्लो महाधिवेशनमा महामन्त्री पदका लागि पराजित भएका युवानेता गगन थापाले यसपटक पनि आफू महामन्त्रीमै दाबी गर्ने बताएका थिए । पछि उनले सभापतिमै उठ्ने संकेत दिएका खबर पनि आएका हुन् । तर थापा बाहेकका अन्य युवा नेताहरु काँग्रेसमा यतिबेला गुमनाम जतिकै छन् ।

यतिबेला सभापतिका लागि दाबी गर्न अघि सरेका नेताहरुमा वर्तमान सभापति देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, कृष्ण सिटौला लगायत छन् । जो जो अघि देखिएका छन् सबै अग्रज पुस्ता हुन् । यर्सथ युवा नेताहरुमा रहेका भनिएकाहरु गगन थापाबाहेक, धनराज गुरुङ, प्रदिप पौडेल, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा लगायतकाहरुले नेतृत्वमा आउन इच्छा देखाएका छैनन् वा देखाए पनि चर्चामा नआएका हुन् त्यो खुल्न सकेको छैन ।

कार्यकर्तातहबाट भने यतिबेला युवा नेताहरुले पार्टी चलाउनु पर्ने र अग्रज पुस्ताले सल्लाहकारको भूमिकामा रहेर कमजोर भएको पार्टीको साख जोगाउनु पर्ने आवाज उठेको छ । यस विषयमा काँग्रेसकै एक केन्द्रीय सदस्यले भने गगन थापा जस्ता भर्खर चालिस उमेर कटेका नेताहरुले अहिले नै सभापतिमा दाबी गर्न नहुने र उनी जस्ता नेताहरुले महामन्त्रीसम्म पाए भने त्यो नै सबैभन्दा ठूलो हुने बताएका छन् । उनले युवा मात्र भनेर नहुने र पार्टी चलाउन सक्ने खुबी भएका अनुभवी व्यक्तिले नै नेतृत्व पाउनु पर्ने प्रतिक्रिया दिए ।

जसले जे भने पनि काँग्रेसमा यतिबेला जरैदेखि सुधार गर्नु पर्ने आवश्यकता छ । यस्तो नेतृत्व आओस् जसले अघिल्लो निर्वाचनमा भएको पराजयलाई राहत दिन सकोस् । यो आम कार्यकर्ताले चाहेको भएपनि काँग्रेसभित्र यतिबेला मौलाएको गुटगत राजनीति पार्टीभित्र सहजरुपमा अवतरण पाउने अवस्था देखिंदैन । यसतर्फ काँग्रेसले बेलैमा सोच्न सकेन भने फाइदा अर्को पार्टीले उठाउने निश्चित छ ।

Skip This
Skip This
Logo