नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन खुल्ला सत्र सकिएपछि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्षका आकांक्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनको प्रयास भएको हो ।
सर्व सहमत नेतृत्व चयनका लागि पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । होटल टाउन हलको सभाकक्षमा सम्पन्न खुल्ला सत्रमा स्थायी समिति सदस्य राजेन्द्र गौतमदेखि पोलिटब्यूरो सदस्य चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, प्रदेश सदस्यहरू, पूर्व अध्यक्षहरूलगायतले सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने भनाइ राखेका थिए ।
सबैको चाहना र भावना अनुरूप नेतृत्व सर्वसम्मत चयन गर्न सहमति खोज्ने गरी अध्यक्ष मण्डल गठन गरी अधिवेशन जारी राखेको छ । अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य अम्बिका थापा, अघिल्लो अधिवेशनमा अध्यक्षका पराजित उम्मेदवार दुर्गाकुमार थापालगायत नौ सदस्य रहेको पार्टी अध्यक्ष इश्वरमणि राउतले जानकारी दिए ।
अधिवेशन सुरु हुनुअघि नै अध्यक्षका लागि वर्तमान सचिव प्रमेश्वर घिमिरे, सचिवालय सदस्यहरू कुशल बाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले उम्मेदवारी घोषणा गरेका थिए । वर्तमान अध्यक्ष इश्वरमणि राउत, उपाध्यक्ष विमल कार्की, गोपाल खत्री, दुर्गाकुमार थापा पनि अध्यक्षका दाबेदार हुन् । राउत, खत्री, थापा, कार्की सर्वसम्मतकै पक्षमा छन् ।





























प्रतिक्रिया