सभामुखसँग एमालेको अब छलफल हुँदैन : सुवास नेम्वाङ

सभामुखसँग एमालेको अब छलफल हुँदैन : सुवास नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताएका छन्। इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताएका हुन्। 

‘सभामुखले रेफ्रिको भूमिका निष्पक्ष रूपमा निभाउनु भएन। अरूको हकमा एउटा निर्णय गर्ने, हामीले गरेको निर्णयको सूचना नटाँस्ने ? दुई दलको बिचमा फरक व्यवहार गर्न पाइँदैन’, नेम्वाङले थपे, ‘जसको विषयमा प्रश्न उठेको छ उहाँसँग के छलफल गर्ने ?’

नेम्वाङले सत्तापक्षले उठाएको माग सम्बोधनको लागि प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन्। ‘हामी प्रधानमन्त्रीसँग छलफल गर्न तयार छौं’, नेम्वाङले भने,‘तर छलफललाई औपचारिकतामा सीमित गर्ने कोसिस नहोस्।’ नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचमा लामो समयपछिको भेटवार्तालाई सकारात्मक भनेका छन्। 

‘हामीले भेटवार्तालाई सकारात्मक रूपमा नै लिएका छौं। तर छलफल औपचारिक मात्रै भएको छ’, नेम्वाङले भने । एमाले नेता नेम्वाङले एक मिनेट पनि सदन अवरुद्ध हुनु सरकारको लागि इज्जतको कुरा नभएको टिप्पणी गरेका छन्। एमालेले आफ्नो पार्टीले कारबाही गरेको सूचनालाई टाँस गर्दै उनीहरूलाई संसदमा उपस्थित हुन दिनु नहुने माग गर्दै नियमित रूपमा सदन अवरोध गर्दै आएको छ। तर, निर्वाचन आयोगले उनीहरूलाई छुट्टै पार्टीको मान्यता दिइसकेकाले केही गर्न आवश्यक नभएको सभामुखको निर्णय छ। पूर्वसभामुखसमेत रहेका नेम्वाङले केही नगरी बस्न नपाइने दाबी गरे। 

नेकपा एमालेका उपाध्यक्ष नेम्वाङले पार्टीभित्रको गुटबन्दीको अन्त्य भएको बताएका छन् । दसौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा नेम्वाङले भने, ‘पार्टीमा अब गुट छैन, गुट हुनु पनि हुँदैन’, नेम्वाङले भने, 'गुटगत गतिविधि इन्कार गर्नुपर्छ, नेतृत्वले सबैलाई समेट्नु पर्छ।’

नेम्वाङले दूषित काम कारबाही गरेर एमाले सरकारमा नजाने बताए। उनले निर्वाचन मार्फत नै एमाले सरकारमा पुग्ने दाबी गरे।

उनले तागत भए एक्लै हराएर देखाउन चुनौती दिए। एमालेलाई हराउने क्षमता भए प्रतिनिधिसभाको उपनिर्वाचन किन नगराएको भनेर प्रश्न गरेका छन्। ‘कुनै पनि पद खालि भएको छ महिनाभन्दा बढी समय भए उपनिर्वाचन गराउनुपर्छ’, नेम्वाङले भने, ‘एमालेलाई हराउने आँट भए उपनिर्वाचन किन नगरेको ?’ नेम्वाङले अहिलेको सरकारमा निर्वाचन सार्ने बानी परेकाहरू भएकाहरूले समयमा निर्वाचन हुनेमा समेत शङ्का व्यक्त गरे। 

Logo