‘भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिन’ : प्रधानमन्त्री (भिडियाेसहित)

‘भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिन’ : प्रधानमन्त्री (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपीशर्मा अ‍ोलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतिपूर्ण रहे पनि भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् ।

संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् । भ्रष्टाचार विरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दावी छ । उनले भने, ‘‘अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’

भ्रष्टाचार बिरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक बर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको छ । राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाबिरुद्ध ३१ अर्ब ५ करोड भन्दा बढीको विगो दावीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको छ ।’’

प्रधानमन्त्री ओलीले विकास र उन्नतिको बाटोमा एकताबद्ध भएर अगाडि बढ्न संकीर्णता र पूर्वाग्रह त्याग्न जरुरी रहेको बताए । ओलीले कोरोनाका कारण कतिपय बाचा गरिएका कामहरु सम्पन्न हुन नसकेको बताए। कोरोना नभएको भए ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची आयोजना, रानीपोखरीको पुनर्निर्माण, धरहरा निर्माण र निजी आवास पुनर्निर्माणको काम सम्पन्न भइसक्ने अवस्थामा पुग्ने थिए ओलीले भने।

प्रधानमन्त्री ओलीले कोरोना संकटका बेला पनि मूल्य वृद्धि नियन्त्रणमा नै रहेको बताए। बन्दाबन्दी र निषेध आदेशको अवस्थामा पनि जनताका दैनिक आवश्यकताका वस्तुहरुको आपूर्ति निरन्तर भइरहेको उल्लेख गर्दै उनले इन्धन, खाद्यवस्तु, तरकारी, फलफूल, औषधी लगायतका अत्यावश्यक उपभोगका वस्तुहरुको आपूर्तिमा कमी नदिइएको बताए।

Skip This
Skip This
Logo