चितवनमा मंसिरयता २७ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार १ मंसिर २०७८ देखि मंगलबारसम्म २७ हजार २०१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्।
उनीहरु १६ वर्ष उमेरमाथिका मतदाता हुन्। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ताको काम रोकिन्छ। त्यसपछि निर्वाचन कार्यालयले १८ वर्ष नाघेका मतदाताको नामावली अद्यावधिक गर्ने काम सुरु गर्नेछ।
केपी ओलीको सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको थियो ।
५ पुस २०७७ सम्म जिल्लामा तीन लाख ६८ हजार ३८२ योग्य मतदाता थिए। त्यसपछि राजनीतिक उतारचढावका कारण ०७८ असारसम्म मतदाता नामावली संकलनको काम सुरु हुन सकेन।
असारपछि मतदाता नामावली संकलन सुरु भएको हो। असार र मंसिरको बीचमा मतदाता नामावली संकलनको काम खासै भएन। निर्वाचन कार्यालयले १७ मंसिरदेखि १८ पुससम्म मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको हो।
विशेष कार्यक्रम अन्तर्गत निर्वाचन कार्यालयले भरतपुरबाहेक ६ वटा पालिकाको केन्द्रमा पुगेर मतदाता नामावली संकलनको काम गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए। विशेष कार्यक्रमबाट एक महिनामा १२ हजार ५२० जनाको मतदाता नामावली संकलन गरिएको हो।
‘भरतपुरबासीले निर्वाचन कार्यालय र प्रशासन कार्यालयमै आएर मतदाता नामावलीमा नाम दर्ता गरे। बाँकी ६ वटा पालिकाको केन्द्रमा हाम्रो टोली पुगेर त्यहाँ १५ दिन बसेर नामावली संकलनको काम गरेको हो’, उनले भने ।
त्यसअघि मंसिर १ गतेदेखि १७ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा गरि ६६१ जनाको मात्रै मतदाता नामावली संकलन गरिएको थियो ।
योग्य मतदाता चार लाख पुग्ने अनुमान
१७ मंसिर देखि १८ माघसम्मको समयमा जिल्ला निर्वाचन कार्यालय, प्रशासन कार्यालय र इलाका प्रशासन माडीमार्फत १४ हजार २० जनाको मतदाता नामावली संकलन गरिएको उनले बताए।यससँगै जिल्लामा मतदाताको संख्या चार लाख पाँच हजार ७६२ पुगेको छ। त्यसलाई अद्यावधिक गर्दा १८ वर्ष नाघेका योग्य मतदाता करिब चार लाख हुने कार्की बताउँछन्।
‘विशेष कार्यक्रमपछि जति पनि मतदाता थपिएका छन्, ती अद्यावधिक नभएका मतदाता संख्या हो। दोहोरो परेका र मृत्यु भइसकेका मतदाताको नाम हटाएर अद्यावधिक गरेपछि योग्य मतदाताको संख्या आउँछ। हाम्रो अनुमानमा चार लाख जति योग्य मतदाता होलान्’, उनले भने ।
११ सय आए, ३५० मतदाता गए
मतदाता नामावली संकलन विशेष कार्यक्रमका क्रममा चितवनमा बसाइसरि आउने मतदाताको संख्या पनि उल्लेख्य रहेको छ। निर्वाचन कार्यालयका अनुसार विभिन्न जिल्लाबाट ११ सय मतदाता बसाइसरि चितवन आएका छन्।
चितवनबाट अन्यत्र बसाइसरि जाने मतदाताको संख्या ३५० जनाको हाराहारीमा रहेको उनले बताए।
जिल्लाभित्रै एक पालिकाबाट अर्काे पालिकामा र पालिकाभित्रै पनि एक वडाबाट अर्काे वडामा बसाइ सर्ने मतदाताको विवरण पनि निर्वाचन कार्यालयले राखेको छ। जिल्लाभित्रै एक ठाउँबाट अर्काे ठाउँमा बसाइ सर्ने मतदाताको संख्या करिब नौ सय रहेको उनी बताउँछन्।
त्यसैगरी अन्यत्र जिल्लाका नागरिकले पनि चितवनबाट मतदाता नामावली दर्ता गराएका छन्। विभिन्न जिल्लाका एक हजार ४४३ जनाले चितवनबाट फोटोसहितको मतदाता नामावली दर्ता गराएका उनले बताए।
‘निर्वाचन आयोगले यस वर्ष अन्य जिल्लाका मतदाताले पनि यहाँबाट मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था गरेअनुसार हामीले १४ सय ४३ जनाको दर्ता गर्यौँ। यहाँ दर्ता गरेपनि उनीहरुको मतदाता परिचय पत्र भने सम्बन्धित जिल्लामा पुग्छ’, उनले भने ।
यस्तो व्यवस्था अनुसार हुम्लाका २० भन्दा बढी मतदाताले चितवनबाट मतदाता नामावली दर्ता गराएका उनले जानकारी दिए।





























प्रतिक्रिया