स्थानीय तहको निर्वाचन गराउन हरतवरले तयार छाैं : आयोग

स्थानीय तहको निर्वाचन गराउन हरतवरले तयार छाैं : आयोग

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको छ। सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न/गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगले वर्षभर निर्वाचनसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएकाले तयारी नै रहेको बताउँदै उनले कानुन अनुरूप निर्णय गरी मङ्गलबारदेखि नै मतदाता नामावली दर्ता कार्य स्थगित गरिने जानकारी दिए। आयोगले कुन दिन के गर्ने भनी निर्वाचन कार्यतालिकाका लागि गृहकार्यका अतिरिक्त निर्वाचनका लागि आवश्यक निर्देशिका र कार्यविधि तयार गर्नेछ। साथै निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जूमा गरि निकासाका लागि अर्थ मन्त्रालयलाई पत्रचार गर्नेछ। 

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने गरि आजै मिति घोषणा गरिसकेको छ। यद्यपि साँझसम्म आयोगमा औपचारिकरूपमा जानकारी भने पुगि नसकेका बताइएको छ। 

केही दिनअघि मितिका सन्दर्भमा परामर्श दिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन तयारीका लागि प्रक्रिया अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए।

Logo