नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने टिप्पणी गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको ढोका चाहर्ने सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ‘कामरे’ भन्न नमिल्ने तर्क गरेका हुन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)का नेता योगेन्द्र ढकाल र अजिता जिसीलाई पार्टीमा स्वागत गर्दै उनले दाहाल र नेपालप्रति कटाक्ष गर्दै काँग्रेसले हात नदिए हिँडन नसक्नेहरूलाई वामपन्थी भन्न नमिल्ने बताएका हुन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाबाहेक काँग्रेस नेताहरूले चुनावमा गठबन्धन नगर्ने भन्दा पनि दाहाल–नेपालले त्यसैलाई निरन्तरता दिने भनिरहेको सुन्दा अचम्म लाग्ने गरेको पनि बताए । उनले भने, ‘हामी सुनिरहेका छौँ–हामी कुनै हालत पनि गठबन्धन तोडदैनौं भनेर । नेपाली काँग्रेसको शेरबहादुर देउवाबाहेक प्रायः हामी संयुक्त चुनावमा जाँदैनौँ, गठबन्धन हुँदैन भनेर काँग्रेसका नेताहरू भन्छन् । वामपन्थीहरू तिनीहरूले हात नदिए हामी कसरी हिँडेन ? हामी त गठबन्धन छोड्न सक्दैनौँ चुनावसम्मै यो गठबन्धन चाहिन्छ भनेर वामपन्थी खोल ओढेका यो गठबन्धनको कुरा गरिरहन्छन् । अव हामीले छुट्ट्याउने कसरी ? त्यसैकारण हामी भनिराखेको छौँ–यहाँ छुट्टयाउनुपर्ने आवश्यकता छैन । कतिपय मान्छेहरू भुलबसले प्रचण्ड कामरे, माधव कामरे भन्छन् । के का कामरे नि ? शेरबहादुर देउवाभन्दा अगाडिअगाडि शेरबहादुर देउवाको ढोकामा पस्न पाइँदैन । ढोकामा त त्यहाँ यिनीहरू बसेका छन् नि । भित्र जाँदा शेरबहादुर के गर्दैछन्, पछि हेरौैंला । तर गेटमा त यिनीहरू बसेका छन् त । त्यसकारण यी चाहिँ कामरे भनेर हुन्छ । कामरे–सामरेड सबै गुटमुट्याएर एकै ठाउँ राखी दिनुपर्छ, आगामी चुनावबाट ।’
त्यस अवसरमा ओलीले सही पार्टी छनौट गरेको भन्दै ढकाल र जिसीलाई पार्टीमा स्वागत गरेका थिए । यता, ढकालले भने देशभक्त नेता ओली भएकाले आफूहरू पनि ओली नेतृत्वकै पार्टीमा बसेर देश र जनताको सेवा गर्न चाहेको बताएका छन् ।
प्रचण्ड र नेपाललाई ‘कामरेड’ भन्न मिल्दैन: केपी ओली
Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 11 February 2022





























प्रतिक्रिया