नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले अवधि समाप्त भइसकेका भातृ संस्थाका केन्द्रिय समितिहरु विघटन गर्दै पार्टी सभापति देउवाले आवश्यक परामर्श गरेर फागुन मसान्तभित्र केन्द्रिय तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ।
जस अनुसार नेपाल विद्यार्थी संघ, नेपाल प्रजातान्त्रिक सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघ विधानतः स्वतः विघटन गरिएको र ती संस्थाहरुको फागुन मसान्तभित्र केन्द्रिय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता महतले बताए।
उनका अनुसार पार्टीको विभिन्न पदहरुमा निर्वाचित वा मनोनित भातृ वा शुभेच्छुक संस्थाका सभापति, पदाधिकारी वा सदस्यहरुको पद स्वतः रिक्त भएको उल्लेख गर्दै तत्काल पूर्ति गर्ने निर्णय पनि गरेको छ। सभापति देउवाले परामर्श गरेर सो काम गर्ने बैठकमा निर्णय गरिएको छ।





























प्रतिक्रिया