नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताए ।
बुधबार कुराकानी गर्दै उनले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गरे । तर यस विषयमा सत्तारुढ दल भित्र भने कुनै छलफल भएको छैन् ।
प्रवक्ता महतले आवश्यक्ताको सिद्धान्त र आ आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था रहेको बताए । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए ।
प्रवक्ता महतले भने, ‘गठबन्धनमा एमसीसीको विषयलाई लिएर जुन संकट आएको थियो । त्यसमा समझदारी विकसित भईसकेपछि यो संकट टरेको छ । र, त्यो अव स्वभाविक रुपमा यो गठबन्धन अगाडि बढछ । अव बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । ३० गते नै त्यो सम्पन्न हुन्छ । त्यसमा कुनै दुविधा छैन । यो निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढछ । जहाँसम्म गठबन्धन सरकारमा बसेका दलहरुले यो निर्वाचन पनि गठबन्धन गरेर जान्छ कि जाँदैन भन्ने विषय छ । अव स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि । स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रिय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ ।’
उनका अनुसाार स्थानीय आवश्यक्ताहरुलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरु पनि हुने सम्भावना छ । प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए ।





























प्रतिक्रिया