प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१ औँ वार्षिक प्रतिवेदन २०७८ मस्याैदा पारित गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले २१ औँ वार्षिक प्रतिवेदन २०७८ मस्याैदा समितिबाट पारित गरेको हो। समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए ।
उनले प्रतिवेदनमा ९ वटा उपसमितिहरुले गरेका बेरुजुका कामहरु समावेश गरिएको बताए। सचिव पाण्डेले प्रतिवेदनमा समितिले समसामयिक विषयहरुमा गरेका निर्णयहरु, गण्डकी प्रदेशको कालीगण्डकी करिडोरलगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षणलगायतका कुराहरु यसमा समावेश रहेको बताए।
सचिव पाण्डेले भने, ‘सार्वजनिक लेखा समितिको बैठकमा विशेषगरि समितिले वर्षदिनमा गरेको काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले आज यसको मस्याैदा प्रतिवेदन समितिमा पेस भइ छलफलपछि यसलाई पारित गर्ने काम भयो । विशेषगरि यो वर्षभरी समितिले गरेका काम कारबाहीहरुमा मुलभूतरुपमा बेरुजु फर्छ्यौट गर्ने ९ वटा उपसमितिहरुले गरेका कामहरु समावेश गरिएको छ।’
उनका अनुसार समितिले समय समयमा बैठक बसेर समसामयिक विषयहरुमा गरेका निर्णयहरु पनि यसमा समावेश छन्। सचिव पाण्डेले समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेश गर्ने तयारी छ।































प्रतिक्रिया