नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।
आइतबार दिउँसो २ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित गरिएको हो ।
तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बताइएकाे छ। अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने छ।
अर्ली इलेक्सनको सम्भावना छैन : वर्षमान पुन
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुनले ‘अर्ली इलेक्सन’को सम्भावना नभएको बताएका छन्। आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको 'अर्ली इलेक्सन' सम्भावना नै नरहेको उनले बताए। संसद भवनबाट आइतबार बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन। कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागतरुपमा पनि मंसिरपछि पाँच वर्ष पूरा भइसक्ने हुँदा यसपछि पनि निर्वाचन गर्न मिल्दैन। साथै, हाम्रो देशको भौगोलिक अवस्था, मौसम आदिले पनि दुई सिजनभन्दा बाहेक निर्वाचन गर्न सक्दैनौँ। अब अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना छैन।’
उनले ५-६ महिनादेखि संसद अनिर्णयको अवस्थामा रहने र चल्न नसकेकाे अवस्थामा जनताका विषयमाथि नै छलफल गर्न नसक्ने भएकाले पार्टी नेतृत्वले यस्तो सोचेको हुनसक्ने बताए। सो क्रममा उनले अब स्थानीय निर्वाचन सार्ने सम्भावना पनि नभएको बताए। कानुनीरुपले र संवैधानिकरुपले पनि वैशाख महिना नै निकै ‘टाइट’ रहेको उनले बताए।





























प्रतिक्रिया