स्थानीय निर्वाचन नजिकिँदै गर्दा राप्रपाले निर्वाचन केन्द्रीत गतिविधिहरु बढाएको छ। हालै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट सम्पूर्ण शक्ति निर्वाचनमा लगाउने निर्णय गरेको राप्रपाले पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ जनतामा राप्रपा प्रति आकर्षण बढिरहेको दाबी गर्छन्।
तीन महिनाअघि सम्पन्न पार्टीको महाधिवेशनपछि राप्रपालाई आम जनताले आशा र भरोसायोग्य शक्तिको रुपमा हेरिरहेका छन्, श्रेष्ठ भन्छन्- 'पछिल्लो समय पार्टीमा प्रवेश गर्नेको लहर हेर्दा राप्रपाप्रति जनताको विश्वास बढेर गएको छ, जनताको विश्वासलाई शक्तिमा रुपान्तरण गर्ने हाम्रो इमान्दार प्रयास भइरहेको छ।'
राप्रपाको अध्यक्षमा पुस्तान्तरणको मुद्दा उठाएर राजेन्द्र लिङ्देन विजयी भएपछि राप्रपा प्रवेश गर्नेको संख्यामा वृद्धि भएको छ। लिङ्देनले पार्टी केन्द्रीय कार्यालय र काठमाडौंमा दिनहुँ दर्जनौं व्यक्ति, समूहलाई पार्टीमा प्रवेश गराइरहेका छन्। यसअघि लिङ्देन पुगेका पोखरा, धनगढी, सुक्खड, महेन्द्रनगर, नवलपुर, जनकपुरका सभाहरुमा पनि पार्टी प्रवेश गर्न तँछाडमछाड देखिएको थियाे। लिङ्देनको गृह जिल्ला झापामा पार्टी प्रवेशको अभियान नै चलाइएको राप्रपा झापाका अध्यक्ष केशव ओझा बताउँछन्।
राप्रपाले स्थानीय निर्वाचन केन्द्रीत सभाहरुलाई निरन्तरता दिँदैछ। राप्रपाको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता श्रेष्ठका अनुसार फागुन २५ गते झापाको बुद्धशान्तिमा, २६ गते मोरङको सुन्दरहरैचामा, २७ गते काठमाडौंको मच्छेगाउँ र ललितपुरको चापागाउँमा, २८ गते सुर्खेतको वीरेन्द्रनगरमा, २९ गते नेपालगन्जको त्रिभुवन चोक, फागुन ३० गते बर्दियाको गुलरियामा राप्रपाको सभाहरु हुनेछन्।
सबै सभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूबाट सम्बोधन हुने श्रेष्ठले बताए। राप्रपाका सभाहरुमा आवश्यकता अनुसार निवर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, हेमजङ्ग गुरुङ, महामन्त्रीहरु डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्ती शाहीले सम्बोधन गर्ने गरेका छन् भने पछिल्लो समय राप्रपा प्रवेश गरेका प्रवक्ता ज्ञानेन्द्र शाही र केन्द्रीय नेताहरू पनि सभामा सहभागी हुने गरेका छन्।





























प्रतिक्रिया