कास्कीमा पाँच दलीय तालमेल : कांग्रेसलाई रहर छैन, अरुलाई बाध्यता

कास्कीमा पाँच दलीय तालमेल : कांग्रेसलाई रहर छैन, अरुलाई बाध्यता

केन्द्रबिन्दु
0
Shares

एमालेको सत्ता ढलेसँगै कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको छ। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको गठजोड गण्डकीमा पनि छ।

केन्द्रीय नेताहरू गठबन्धनलाई चुनावसम्म धकेल्न चहान्छन् । त्यसैका लागि माओवादी र एकीकृत समाजवादीले एमसीसीमा विरोध हुँदाहुँदै सहमति जनाए। तर, त्यसको प्रभाव तल्लो तहसम्म आइपुगेको छैन। सबै पार्टीका नेता कार्यकर्ताहरू गठबन्धन नगर्न सुझाव दिन्छन्। त्यसो त केही समयअघि भएको इन्जिनियरहरूको निर्वाचनमा पनि गठबन्धन कायम रहेन। कांग्रेस निकट इन्जिनियरहरू एक्लै चुनाव लडे भने माओवादी र जसपाका इन्जिनियरहरूको एउटा प्यानल बन्यो।

कास्कीमा गठबन्धनको जिल्लास्तरीय बैठक दुई पटक भइसकेको छ। गण्डकी प्रदेशको बैठक पनि पटक पटक भएको छ। राष्ट्रियसभा निर्वाचनमा गठबन्धनकै कारण तीनवटै सिट हत्याउन सफल भयो । कांग्रेस सभपाति किशोरदत्त बरालले केन्द्रको निर्णयमा भर पर्ने बताए । ‘पार्टीभित्र गठबन्धन गर्नु हुँदैन भन्ने आवाज बढी छ। कसैले गर्नुपर्छ भनेका पनि छन्,’ उनले भने, ‘गठबन्धन नगरे पनि कास्कीमा अब कांग्रेस बलियो छ। जिल्लाबाट भनेर मात्र केही भएन ।’

उनले महानगरमा समेत आफूहरू बलियो रहेको भन्दै गठबन्धन अनिवार्य नरहेको बताए। ‘केन्द्रले जाने भन्यो भने विरुद्धमा लाग्ने कुरा भएन। तर, स्थानीय तहमा आवश्यक्ताअनुसार जिल्लाले नै गठबन्धन गर्न निर्देशन आउन सक्छ। म यसबारे छलफल गर्न काठमाडौं जाँदैछु। त्यसपछि छलफल गर्नुपर्ला,’ उनले अघि थपे, ‘कुनै कुनै वडामा गठबन्धन गर्दा राम्रो हुन्छ भन्ने सुझाव पाएको छु। ३३ वटै वडा जित्छौं भन्ने होइन। २२ वडा चाहिँ हामी जित्छौं।’

नेकपा माओवादी केन्द्रका महानगर इन्चार्ज दीपक कोइराला केन्द्रमा जस्तो जिल्ला तहमा नेता कार्यकर्ताबीच अझै अन्तरघुलन हुन नसकेको बताए। ‘हिजो एमालेसँग गठबन्धन भयो। पार्टी एकीकरण भयो । परिस्थितिले प्रतिगमनको विरोध गर्दा अहिले कांग्रेससहितका दलसँग गठबन्धन भएको छ,’ उनले भने, ‘धेरै कुराहरूले अन्तरघुलनमा केही समस्या छ। तर धेरै समस्या छैन। आपसमा भेटघाट र छलफल निरन्तर गरिरहेका छौं।’

प्रदेश तहका नेताहरूबीच औपचारिक बैठक नै भइरहेको उनले सुनाए । केन्द्रले गठबन्धन नगर्ने निर्णय गरे पनि पोखरामा मिलेर जानुपर्ने उनको सुझाव छ। ‘माथि गर्ने नगर्ने केही कुरा छैन। तर, हामी पोखरामा मात्र पनि गठबन्धन गर्न त सक्छौं,’ उनले अघि थपे, ‘त्यो हिसाबले पनि कुरा गरिरहेका छौं। अहिलेको अवस्थामा मिलेरै जानुपर्छ।’

एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य भने जिल्लाभित्र कुनै समस्या नरहेको बताउँछन्। ‘गठबन्धन गर्ने कुरामा कास्कीभित्र कुनै समस्या छैन। हामी क्लियर नै छौं। पाँच दलसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘केन्द्रले निर्णय नगर्दासम्म भाग लगाउने कुरा भएन। केन्द्रलाई कुरेका छौं।’

अबको बैठकमा वडा र पालिका विभाजनमा केन्द्रित हुने उनले बताए। ‘अब भनेको कुन ठाउँमा कसलाई टिकट दिने भन्ने हो। मेयर उपमेयर केन्द्रबाटै हुन्छ। सैद्धान्तिक हिसावले सँगै जाने भन्ने कुरामा दुई मत छैन,’ उनले भने।

नेकपा एमाले भने पर्ख र हेरको स्थितिमा छ। एमाले कास्कीमा एक्लै पनि बलियो पार्टी हो । अघिल्लो निर्वाचनमा गठबन्धनविनै चारवटा पालिकामा चुनाव जितेको थियो, त्यो पनि निकै चर्को मतान्तरसहित। अन्नपूर्णमा अध्यक्ष भने कांग्रेसले झिनो मतान्तरमा जितेको हो । ‘गठबन्धन हुने नहुनेसँग एमालेलाई कुनै असर पर्दैन । कोही पार्टी मिल्छु भन्यो भने स्वागत गर्छौं,’ एमाले अध्यक्ष मनबहादुर गुरुङ भन्छन्, ‘नभए पनि हामीलाई समस्या छैन । यसपालि कास्कीबाट कुनै पद पनि फुस्किँदैन । सबै एमालेको हो।’ स्थानीय निर्वाचनमा अघिल्लाे पटक ठाउँ अनुसार फरक खालकाे तालमेल थियाे । अहिले पनि गठबन्धनकाे निर्णय तल्लाे तहलाइ नै गर्न दिनुपर्ने नेताहरुकाे सुझाव छ।

Skip This
Skip This
Logo